नक्कली शरणार्थी प्रकरणले देशको बदनामी भएको छ, संलग्न सबैलाई कानुनी दायरामा ल्याउनुपर्छः कोइराला


विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न कसैलाई छाड्न नहुने बताएका छन् । बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै कोइरालाले यसमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका हुन् ।

नक्कली शरणार्थी बनाएर अमेरिका लैजान गरिएको कामले अन्तर्राष्ट्रियस्तरमै देशको बदनामी भएको उनको भनाई थियो । उनले नक्कली शरणार्थी प्रकरण लज्जास्पद विषय भएको भन्दै प्रहरी प्रशासनले अनुसन्धान अघि बढाएको र यसलाई अझ तदारुकता दिनुपर्ने बताए ।

कोइरालाले दोषीलाई कारबाही हुनुपर्ने र गलत कामको उचित छानबिन हुनपर्ने पक्षमा आफू रहेको बताए । कोइरालाले कांग्रेसभित्र महामन्त्री गगन थापाले व्यक्त गरेको असन्तुष्टि सभापति शेरबहादुर देउवाप्रति लक्षित भएको हुनसक्ने भन्दै मन्त्री बनेकाहरु सरसल्लाह र कांग्रेसबाटै भएको जिकिर गरे ।