अनि लेखिन्छ उहाँको इतिहास–स्वर्णाक्षरले !
केशवप्रसाद भट्टराई ।
१. नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्य अनैतिक र भ्रष्ट कार्य मात्र नेपालको स्वाभिमान र अश्मिता माथिको प्रहार हो । यो राष्ट्र द्रोह पनि हो । अझ आफ्नो मुलुकबाट चरम असुरक्षाको स्थितिमा अन्यायपूर्ण,अमानवीय रूपमा आफ्नो थाकथलोबाट लखेटिएका र नेपालको शिविरमा दीनहीन जीवन विताइरहेका शरणार्थीको भाग खोसेर करोडौँ असूलेर सुविधाजनक अवस्थामा रहेका नेपाली नागरिकलाई त्यो भाग दिनु घोर अमानवीय कार्य हो, महापाप हो । प्रचण्ड नेतृत्वको सरकारले गरेको यो पहिलो उचित कार्य हो । र यो सरकार र माओवादी नेतृत्वको सबैभन्दा ठूलो परीक्षा हो ।
२. तर अरु यस्ता धेरै भ्रष्टाचार छन् । प्रधानमन्त्री प्रचण्ड भ्रष्टाचारविरूद्ध कति इमान्दार छन् भन्ने कुरा सावित गर्न शिविर भ्रष्टाचार, वाइडबडी विमान खरीद, काम नदिने नेपाल वायु सेवा निगमलाई सेतो हात्ती बनेको चिनियाँ विमान खरीद प्रकरण, ओम्नी काण्ड, ५० करोड र ७० करोडको मोलमोलाईको अडियो काण्ड, सबैको छानबिन गर्न–गराउन सक्नु पर्दछ । २०४६ पछिका सबै नेता,उच्च प्रशासनिक, प्रहरी अधिकारीहरू र न्यायाधीशहरूको सम्पत्तिको समेत छानबिन गराएर कारबाही समेत गराउन सक्नुपर्दछ ।
३. त्यसको लागिः सर्वोच्च अदालतका अवकाश प्राप्त (लोकसेवाबाट नै न्याय र कानुन सेवामा प्रवेश गरी बढुवा हुँदै आएका) न्यायाधीशहरू र कुनै पनि राजनीतिक दलसँग आवद्ध नरहेका, सार्वजनिक रूपमा यो वा त्यो राजनीतिक दल को पक्ष र विपक्षमा नबोलेका–नलेखेका वरिष्ठ अधिवक्ताहरू र त्यस्तो अनुसन्धानमा दक्ष र स्वच्छ छविका उच्च प्रहरी अधिकृतहरू रहेको सर्वाधिकार प्राप्त छानबिन आयोगलाई संसदबाट गठन गराएर र राष्ट्रपति वा सर्वोच्च अदालतको प्रधान न्यायाधीशबाट शपथ ग्रहण गराउने र संसदप्रति उत्तरदायी रहने गरी गठन गराउन सक्नुहुन्छ भने अनि प्रचण्डको निष्ठामा विश्वास गर्न सकिन्छ । यो गर्न सक्नुभयो भने त्यो माओवादीले मुलुक र जनतालाई गरेको सबैभन्दा ठूलो योगदान हुने छ ।अनि लेखिन्छ उहाँको इतिहास–स्वर्णाक्षरले !