भुटानी शरणार्थी काण्डमा बदमासी गर्ने जोसुकैलाई दण्डित गर्नुपर्छः अध्यक्ष नेपाल


विराटनगर । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपाली नागरिकलाई भुटानी शरणार्थी काण्डमा बदमासी गर्ने जोसुकैलाई दण्डित गर्नुपर्ने बताएका छन् । आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले बदमासी गर्ने जोसुकै ठूला ओहदाका भएपनि छाड्नु नहुने बताएका हुन् ।

उनले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने घटनाका संलग्नलाई बचाउने दबाबअघि झुक्न नहुने बताए । यो प्रकरणमा संलग्न दोषीलाई बचाउन उच्च राजनीतिक नेतृत्वबाट सरकार र गृहमन्त्रीलाई दबाब आएपनि झुक्न नहुने उनले बताए ।

उनले भने,‘दबाबसामु झुक्नु हुँदैन भन्ने आम सबैको मान्यता छ। दोषीलाई कानूनको दायरामा ल्याउनुपर्छ ।’ नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म आठ जना पक्राउ परेका छन् ।

पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, बहालवाला सचिव टेकनारायण पाण्डे, एमाले सचिव टोपबहादुर सन्दीप रायमाझी पक्राउ परेका छन् । टोपबहादुर र बादलका छोरा प्रतिकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीहरु भने फरार छन् ।