नारायण गाउँले ।
एकछिन अलि गम्भीर भएर सोच्नुस् त, प्रलोभन, बाँडचुँड, भागबण्डा, जालसाँजी, धोकाधड़ी, घटिया घोचपेच र गालीको हिस्सा झिकिदिने हो भने नेपाली राजनीतिमा के बाँकी रहन्छ ? आफ्नो दल, नेता, सिद्धान्त, इतिहास, आशक्ति सबै छोडेर एक मिनेटकै लागि सही, एउटा सामान्य द्रष्टा बनेर हेर्नुस् त, अहिलेको सत्ता, प्रतिपक्ष दल र नेतामा इमान् र निष्ठाको मात्रा कति छ ? ती कुन कुरामा व्यस्त र चिन्तित छन् ? तिनको दैनिक भागदौड़, रस्साकस्सी र चासो केमा छ ?
भोट हाल्नुभो, पाँच महिना बित्यो । देशको बजेटको झन्डै आधा हिस्सा त तलबभत्तामा खर्च भइसक्यो । एक वर्षमा देशले लागू गर्नुपर्ने योजनाको आधा समय त बिती नै सक्यो । गर्नुपर्ने काम कति हो कति छ । तर यी पाँच महिनाका पाँच सय समाचार जम्मा गरेर पढ्नुस् त, त्यहाँ तपाईं कहाँनिर हुनुहुन्छ ? ती समाचारमा देश कहाँनिर छ ? तपाईंले समाचारमा सुन्ने गालीका लागि, घोचपेचका लागि, क्षुद्र भाषण र भागबण्डाका लागि तिनले तलब बुझ्छन्, भत्ता खान्छन् र तपाईंले तिर्ने संसारकै महँगो करले गाड़ी चढ्छन्, आफ्नो उपचार गर्छन् । तपाईं ती गालीमा ताली बजाउनुहुन्छ, घोचपेच र चुट्किलामा ङिच्च दाँत देखाउनुहुन्छ । भोलिपल्ट गाली गरेको जिब्रो तपाईंकै सुरूवालले पुछेर तिनले उसैको प्रसंशा गर्छन्, अनि तपाईं आफ्नो सुरूवाल खोज्न नलागी त्यो डायनामिक नेताको भजन गाउन थाल्नुहुन्छ ।
तपाईं र म यही दल–दल र भक्तिमा आनन्दित भए पनि हामीजस्तै धेरै भुइँ मान्छे हदैसम्म वाक्कदिक्क भइसकेको बुझियो । त्यो फ्रस्ट्रेशन, त्यो आक्रोश र त्यो विद्रोह निकै निकै गहिरो बन्दै रहेछ । तीन तलामाथि बौद्धिक भनिने वर्गको टेबलमा बसेर पछिल्ला लक्षण, गति र दिशा हेर्दा घण्टी पनि घाम र रूख जस्तै हो भन्ने देखिएला । भर्खरैका भाष्यहरू पनि उस्तै बनेका र बनाएका छन् तर भुइँ तलामा घण्टीप्रतिको आकर्षण कत्ति पनि घटेको देखिएन । यो घण्टीको सौन्दर्यले मात्रै नभई घाम र रूखको विद्रूपताले सिर्जिएको आकर्षण होला । खराबमध्ये कम खराबको आशा होला । भुइँ तलामा आगो सल्किसकेको छ ।
घरको भुइँ तलामा आगो लाग्नु र आफू माथिल्लो तलामा हुनु पक्कै चिन्ताको विषय हो । त्यसमाथि आफू माथिल्लो तलामा हुनु र भुइँ तलाको आगोबारे थाहा नहुनु कस्तो होला ? दलहरूको अवस्था कतै त्यस्तै त होइन भन्ने लाग्ने रहेछ । यतिबेला घण्टीवाहकहरू कति योग्य र इमान्दार छन्, तिनको नियत र गन्तव्य के हो भन्ने प्रश्न बौद्धिक विलासको विषय रहेछ । आमजनतामा त ती तीस वर्षदेखि देश लुटेका पार्टी र मान्छे होइनन् भन्ने भए पुग्ने रहेछ । नियत र भविष्य जनताले चिन्न सक्ने भए त अहिलेका नेता तीस वर्षदेखि कुर्सीको वरपर किन भन्किरहेका हुन्थे र ? तिनले निर्लज्ज अर्मपर्म गरिरहेका हुँदैनथे । अहिले त सासै फेर्न नसकिने अवस्थाबाट अलिकति मुक्ति पाए पुग्यो ।
फेसबुके अध्येताका रूपमा मलाई घण्टीको रालोलाई जालोले बेरिसक्यो जस्तो लागेको थियो । तर यो विद्रोह, यो बाढी घण्टीको आकर्षणले तानेर उर्लेको भए पो घण्टीको जालोले विकर्षण हुनु !
यो त कहिल्यै नफल्ने रूख र जहिल्यै पोल्ने घामका कारण दिक्क भएर, जलेर त्यहाँ पुगेको हुनाले तत्काल डिफ्युज हुने भीड़ होइन भन्ने अनुभव फेसबुकबाट ओर्लेपछि भयो । दाग त नयाँमा पनि छ नै । अर्काको दाग सबैलाई त्यसै ठूलो लाग्छ । तर अलि टाढा बसेर हेर्नेलाई चाहिँ हजार दागभन्दा एक–दुई दाग कम नै लाग्दो रहेछ । यसपालि टेबलबाट माटो टेकेपछिको अनुभव यस्तो रह्यो ।

प्रतिक्रिया