काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति आक्रोश व्यक्त गरेका छन् ।
शनिबार ललितपुरमा अखिल नेपाल महिला संघको सातौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री र एकीकृत समाजवादीका अध्यक्ष नेपालले दक्षिणपन्थको नांगो दलाली गरेको आरोप लगाएका हुन् । उनले वामपन्थीले राष्ट्रपति जित्नु हुँदैन भनेर प्रचण्ड डाँको छोडेर ठाउँ–ठाउँमा रोएको आरोप लगाए ।
त्यस्तै माधव नेपालले एमालेको राष्ट्रपति भए देश ध्वस्त हुने भनेर हिँडेको आरोप लगाए । उनले भने, ‘वामपन्थीले राष्ट्रपति जित्नु हुँदैन भनेर प्रचण्ड डाँको छोडेर ठाउँ–ठाउँमा रोएको त तपाईहरुले देख्नु भएको छ । वामपन्थी राष्ट्रपति हुनै दिनु हुँदैन । देश खत्तम हुन्छ भनेर । माधव नेपालले भनेको सुन्नुभएको होला एमालेको राष्ट्रपति भयो भने त देश ध्वस्त हुन्छ भनेको । यो नांगो दक्षिणपन्थी र दक्षिणपन्थताको दलाली हो । विपक्षीका पाउमा मैले घर डढाएर यति खरानी हजुरको पाउमा चढाउन ल्याएको छु भनेर पाउमा चढाउन जाने जस्तो घिनलाग्दो कुरो अरु के हुन्छ ?’
उनले दश दलीय सत्ता गठबन्धन जालझेलमा लागेको आरोप लगाए । अध्यक्ष ओलीले उपराष्ट्रपति निर्वाचनमा गठबन्धनले जालझेल गर्न खोजेको बताए । उनले राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था भएपनि गठबन्धनले फरक समुदायको भनेर पुरुष नै उम्मेदवारी दिएर जालझेल गरेको बताए । अध्यक्ष ओलीले एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यसँग एक्लै लड्न नसकेर दश दलिय गठबन्धन बनाएका टिप्पणी गरे ।

प्रतिक्रिया