काठमाडौं । सत्ता साझेदार नौ राजनीतिक दलले सङ्क्रमणकालीन न्यायका बारेका उठेका विषयलाई अविलम्ब टुुङ्गोमा पुर्याउने निर्णय गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको नौ दलको संयुक्त बैठकले केही समययता सङ्क्रमणकालीन न्यायबारे उठेका विषयमा ध्यान गम्भीर रुपले आकृष्ट भएको उल्लेख गर्दै शान्ति प्रक्रियाका बाँकी कामलाई विस्तृत शान्ति सम्झौता र संविधानको भावनाअनुरूप तार्किक निष्कर्षमा पुर्याउन प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।
बैठकपछि जारी संयुक्त विज्ञप्तिमा विगतमा सम्बन्धित विषयमा कानुन निर्माण र आयोग गठन गरी केही काम सम्पन्न भएको सर्वविदितै रहेको स्पष्ट पार्दै यसबारे बाँकी कामहरू अविलम्ब पूरा गरिने जनाइएको छ ।
द्वन्द्वकालीन घटनाबाट पीडित नागरिक एवम् उनका परिवारलाई न्याय दिन आवश्यक विधेयक सर्वोच्च अदातलको फैसलाबमोजिम कानून बन्ने गरी संसद्को यसै अधिवेशनमा प्रस्तुत गर्ने संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।
संयुक्त विज्ञप्तिमा अगाडि भनिएको छ, “कानून निर्माणका साथै सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी आयोग गठन गरिनेछन् । मुलुककै महत्वपूर्ण ‘एजेन्डा’का रुपमा रहेको हामी सबैको साझा विषयलाई उचित निष्कर्षमा पुर्याउन सबैको सकारात्मक भूमिका र सहयोगको अपेक्षा गर्दछौँ ।”
नेपालको संविधानको सार्थक कार्यान्वयनका क्रममा मुलुक तेस्रो राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा रहेको सन्दर्भ जोड्दै नौ दलले संविधानको रक्षा गर्दै देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिसम्म पुग्ने विषयमा आफूहरु स्पष्ट र एकताबद्ध रहेको जनाएका छन् ।
केही दिनयता जनताको त्याग र बलिदानबाट प्राप्त संविधान र लोकतान्त्रिक गणतन्त्रको मर्म एवम् भावना विपरीत भइरहेका केही क्रियाकलापतर्फ नौ दलले गम्भीर रुपले ध्यानाकृष्ट भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
“संविधानले नचिनेका नदेखेका तथा कथित पदका नाममा गरिने संविधान विपरीतका गतिविधि र तिनलाई सहयोग गर्ने क्रियाकलापहरू लोकतन्त्र विरोधी अवाञ्छित हुन भन्ने विषयमा हामी एकमत छौँ । संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एकजुट भई अगाडि बढ्ने दृढता व्यक्त गर्दछौँ”, संयुक्त विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया