मलेसियाका गृहमन्त्रीलाई नेपाली श्रमिकको हित र सुरक्षालाई सुनिश्चित गर्न प्रधानमन्त्रीको आग्रह



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मलेसियामा रहेका नेपाली कामदारको हित, सुरक्षा र कल्याणको विषय सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीसँग शुक्रबार सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाली कामदारको हितका विषयमा छलफल गरेका हुन् ।

“मलेसिया सरकारले नेपाली श्रमिकहरूलाई प्रदान गर्दै आएको वातावरणका लागि सरकारका तर्फबाट धन्यवाद दिन चाहन्छु’’ उनले भने, “यदि यो विषयमा केही समस्या भएमा कानुनी तथा संस्थागत सुधार गर्दै मलेसिया सरकारले नेपाली श्रमिकहरूको हित, कल्याण र सुरक्षालाई सुनिश्चित गर्नेछ भन्ने विश्वास लिएका छौँ । यो विषयमा मलेसिया सरकारसँग सहकार्य गर्न हामी सदैव तत्पर छौँ ।’’

प्रधानमन्त्रीले मलेसिया सरकारका तर्फबाट श्रमिकहरूको न्यूनतम ज्याला, १२ सय रिंगेटबाट बृद्धि गरेर १५ सय बनाएकोमा धन्यवाद दिए ।

यसका साथै फ्रि भिसा र फ्रि टिकेटको व्यवस्थालाई अझै कडाइका साथ लागू गर्ने प्रतिवद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले यसो गर्न सकेमा रोजगार क्षेत्रलाई थप व्यवस्थित बनाउन सकिने बताए ।

प्रधानमन्त्रीले मलेसियामा नेपाली श्रमिकहरू इमान्दारिता र परिश्रमीका रूपमा सुपरिचित भएको उल्लेख गर्दै भविष्यमा नेपाली श्रमिकको संख्यामा वृद्धि गर्न मलेसिया सरकारलाई आग्रह गरे ।

प्रधानमन्त्रीले मलेसियामा नेपाली श्रमिक र श्रम क्षेत्रलाई खुला, पारदर्शी, विश्वासिलो, प्रभावकारी र व्यवस्थित बनाउने विषयमा मलेसिया सरकारको सहयोग आवश्यक रहेकोमा समेत जोड दिए । “आप्रवासन क्षेत्रलाई थप खुला, पारदर्शी, विश्वासिलो, प्रभावकारी र व्यवस्थित बनाउन मलेसिया सरकारको सहयोग र सहकार्यको अपेक्षा राखेका छौँ’’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले मलेसिया जाने श्रमिकहरूको सीप, ज्ञान र क्षमता अभिवृद्धि गर्न तथा मलेसियाबाट सिकेको व्यवसायिक ज्ञान र दक्षतालाई नेपालमा उपयोग गर्ने वातावरण बनाउनका लागिसमेत दुबै देशले मिलेर काम गर्नुपर्नेमा जोड दिए । यसबाट श्रमिकहरूलाई समेत उत्प्रेरित गर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री प्रचण्डले राखेको चासोप्रति मलेसियाका गृहमन्त्री नासुसन इस्मालीले मलेशिया सरकारले विदेशी श्रमिकहरूलाई भित्राउने प्रक्रिया र मलेसियामा रहँदा कामदारको कल्याण र सुरक्षाका विषयमा गम्भीर रहेको बताए ।

उनले मलेसियाको ५ वटा आर्थिक क्षेत्रमा कामदारको आवश्यकता रहेको जानकारी दिँदै कामदारको कल्याणका लागि नीतिगत तथा कानुनी ढाँचामा सुधार गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले नेपाली श्रमिकहरूको प्रशंसा गर्दै कामदारहरूलाई सहज हुने गरी अन्य नीतिगत सुधारका लागि समेत मलेसियाले गृहकार्य गर्ने बताए ।

छलफलपछि दुबै पक्षबीच नेपाल र मलेशियाबीच श्रमिक सहकार्यका विषयमा यसअघि सम्पन्न समझदारीपत्रलाई परिमार्जन गर्ने समझदारी भएको छ । यसका लागि दुबै पक्षका सम्बन्धित र निकायले आपसी सहकार्य गर्नेछन् ।

भेटका अवसरमा दुबै देशबीच उच्च राजनीतिक तथा प्रशासनिक तहमा भेटघाट तथा सम्वाद बढाउँदै व्यापार, लगानी, पर्यटन, आर्थिक विकास लगायतका क्षेत्रमा रहेका सम्भानाहरूमा समेत मिलेर काम गर्ने विषयमा छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि १० वर्ष आयकर छुट दिने

काठमाडौँ । सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने

सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय

संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या

संसदीय समिति गठनमा सहमति जुटाउन चार दल प्रधानमन्त्री निवासमा छलफलमा

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको मागमा