धनगढी । नागरिक उन्मुक्ति पार्टीले सभामुख चयनमा सत्ता गठबन्धनलाई सहयोग गर्ने भएको छ । सोमबार धनगढी आएकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्ना प्रदेश सांसदहरूलाई बोलाएर सभामुख पदमा सत्ता गठबन्धनका उम्मेदवारलाई सहयोग गर्न निर्देशन दिएकी हुन् ।
उनले सभामुखमा समर्थन गरे पनि प्रदेशसभा सदस्यहरूलाई प्रतिपक्षमा बस्न निर्देशन दिएकी छन्। तर, सुदूरपश्चिम प्रदेशसभामा भने सो दलका सदस्यहरू सत्तापक्षमै बसेका छन्। प्रदेशमा नागरिकले निर्णय लिन नसक्दा सुदूरपश्चिम प्रदेशले सभामुख पाउन सकेको छैन।
माओवादी केन्द्रबाट भीम भण्डारी र नेपाली कांग्रेसबाट मनाबहादुर रावल सभामुखका उम्मेदवार छन् । दुईपटकसम्म भएको चुनावमा कुनै पनि उम्मेदवारले बहुमत पाउन सकेका छैनन् । बहुमत पाउन कम्तीमा २७ सांसद आवश्यक पर्छ। दुवैको बहुमत नपुगेपछि शनिबार पनि सभामुख चयन हुन सकेको थिएन।
आजको बैठक पनि स्थगित भएको थियो। ५३ जना प्रदेशसभा सदस्य रहेको यहाँ कांग्रेसका १९, माओवादीका ११, एमालेका १० नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादी ४, राप्रपाका १ र स्वतन्त्र १ सांसद छन्।

प्रतिक्रिया