ओजोन तह केही दशकभित्र पुरानै अवस्थामा फर्कनसक्ने



ओजोन तह जोगाउन मानवजातिले चालेका कदमले काम गरिरहेको भन्दै संयुक्त राष्ट्रसङ्घले केही दशकमा उक्त तह यसअघिको अवस्थामा पुनर्स्थापित हुनसक्ने बताएको छ । सन् १९८७ मा भएको एउटा अन्तर्राष्ट्रिय सम्झौताले उक्त तहलाई नष्ट पारिरहेका हानिकारक रसायनहरूको प्रयोगमा प्रतिबन्ध लगाएको थियो। एउटा प्रमुख समीक्षा प्रतिवेदनले उक्त कदम सफल रहेको निष्कर्ष निकालेको छ ।

ओजोन तह पृथ्वीको वायुमण्डलको पातलो भाग हो जसले सूर्यको पराबैजनी विकिरणको अधिकांश मात्रा सोस्छ । त्यो पातलिँदै जाँदा त्यस्तो विकिरण पृथ्वीको सतहसम्म आइपुग्छ जसबाट मानव र अन्य सजीव तथा प्राणीहरूलाई घातक असर पर्नसक्ने बताइन्छ । पराबैजनी विकिरणले डिएनएलाई क्षति पुर्याउने, छाला डढाउने जस्ता नोक्सानी पुर्याउन सक्छ जसको असर क्यान्सरजस्ता दीर्घकालीन समस्याहरू गराउनेसम्मको हुन्छ । सन् १९७० को दशकदेखि ओजन तह पातलो हुन थालेको थियो । ओजोन तहलाई त्यसरी कमजोर पार्नमा क्लोरोफ्लोरोकार्बन नामक रासायनिक यौगिकको भूमिका रहेको बताउने गरिएको छ।

उक्त ग्यास स्प्रे क्यान, फ्रिज, फोमको इन्सुलेसन र एअर कन्डिशनरहरूमा आम रूपमा भेटिन्छ । ओजोन तहमा ठूलो भ्वाङ रहेको तथ्य वैज्ञानिकहरूले सन् १९८५ मा पहिचान गरेका थिए । त्यसको जम्मा दुई वर्षपछि ४६ वटा देशले घातक रसायनहरूको प्रयोग हटाउँदै लैजाने प्रतिबद्धता सहित मोन्ट्रिओल प्रोटोकलमा हस्ताक्षर गरेका थिए । उक्त सम्झौता पछि गएर विश्वव्यापी रूपमा अनुमोदन हुने पहिलो राष्ट्रसङ्घीय सन्धि बन्न पुग्यो र ओजोनलाई पातलो बनाउने लगभग ९९ प्रतिशत रसायनहरूको प्रयोग हाल बन्द भएको छ ।

एन्टार्कटिक क्षेत्रमाथि रहेको ओजोन तहको प्वाल सन् २००० सम्म विस्तार भैरहेको थियो। तर त्यसपछि त्यसको क्षेत्रफल र गहिराइमा बिस्तारै सुधारहरू देखा पर्न थाल्यो । अहिले संयुक्त राष्ट्रसङ्घ, अमेरिकी र युरोपेली सङ्घका निकायहरूले मिलेर निकालेको एउटा प्रतिवेदनले मोन्ट्रिओल प्रोटोकलले अपेक्षा गरेअनुसार काम गरिरहेको जनाएको छ । उक्त प्रतिवेदनले यदि अहिलेकै नीतिहरूलाई निरन्तरता दिइए ओजोन तह सन् १९८० कै तहमा अर्थात् त्यसमा प्वाल देखिनुभन्दा अघिको अवस्थामा पुग्नसक्ने उल्लेख गरेको छ । सन् २०६६ मा एन्टार्कटिक क्षेत्रमा सुधार हुनेछ जहाँको अवस्था सबैभन्दा खराब रहेको थियो ।

ओजोन तह पातलोहुँदा सौर्य विकिरणका कारण क्षति हुने भएपनि त्यो जलवायु परिवर्तनको मुख्य कारण भने होइन । तर ओजोन तहको रक्षा गर्न चालिएका कदमले विश्वव्यापी तापमान वृद्धि रोक्नमा सकारात्मक असर पारेको उक्त प्रतिवेदनमा उल्लेख छ । प्रतिबन्धित भएका कतिपय घातक रसायनहरू शक्तिशाली हरित गृह ग्यासहरू थिए । उक्त कदमले ती रसायनहरूको प्रयोग प्रतिवर्ष ३ प्रतिशतले बढाएको भए उत्पन्न हुन सक्ने अवस्थासँग त्यस्तो प्रयोग हटाइएको परिस्थितिलाई तुलना गर्दा यो शताब्दीको मध्यसम्म पृथ्वीको तापमान वृद्धि १ डिग्री सेल्सियससम्म नियन्त्रण गर्न सकिएको वैज्ञानिकहरूले उल्लेख गरेका छन् ।

यो प्रतिवेदनलाई सकारात्मक समाचार र द्रुत तथा अन्तर्राष्ट्रिय कदमले वातावरणीय सङ्कट समाधान गर्न सकिने प्रमाणका रूपमा व्याख्या गरिएको छ । साथै यसले ओजोन तहमा देखिएको प्रगतिले निरन्तरता प्राप्त गरिरहन्छ भन्ने चाहिँ सुनिश्चित गर्न नसकिने पनि चेतावनी दिएको छ । उदाहरणका लागि, माथिल्लो वायुमण्डलमा दशौँ लाख टन सल्फर डाइअक्साइड पठाएर पृथ्वीको तापमानवृद्धिलाई नियन्त्रण गर्ने प्रस्तावलाई लिन सकिन्छ । उक्त कदमले ओजोन तहको पुनर्स्थापनाको अवस्थालाई नाटकीय ढङ्गले उल्टाउन सक्ने भनिएको छ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निजी क्षेत्रलाई विश्वासमा लिएर विकासको नयाँ मोडेल तयार पार्नुपर्छः प्रधानमन्त्री

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री

अनावश्यक विदा, आममाफीका नाममा पहुँचवाला अपराधीलाई मात्र छुटको विषयमा लगातार काम गरिरहेको छुः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अनावश्यक विदा र ‘भिआइपी सवारी’ का

वीरगञ्जको अलौमा भीषण आगलागी, सात घर जलेर नष्ट, ५४ लाख बराबरको क्षति

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा मंगलबार बिहान आगलागी हुँदा सातवटा घर जलेका

यसरी रोक्न सकिन्छ शिक्षकहरूको दलीय आवद्धता

केशवप्रसाद भट्टराई । १. राज्य कानुनद्वारा संगठित सेवामा रहेका शिक्षक वा कर्मचारी कसैले