घाँटीको हाडजस्तो उदारतावाद !
डा. गोविन्दशरण उपाध्याय ।
उदारवाद आजको सामाजिक तथा राजनैतिक परिवेशमा सबैभन्दा बढी प्रयोग गरिने शब्द हो । खासगरी उदारतावादलाई प्रजातन्त्र, लोकतन्त्र, धर्ननिरपेक्षता र मानवअधिकारको एउटा स्तम्भका रुपमा बुझाउने प्रयत्न गरिन्छ । यस्तो उदारवादी चिन्तनबाट सबैभन्दा प्रभावित भएर आफ्नो सहमति व्यक्त गर्नेहरूमा हिन्दू, जैन, बौद्ध र किराती समुदायका मान्छेहरू बढी छन् । आजको मितिमा यही उदारतावादी सांस्कृतिक विरासत यी समुदायका लागि “घांटीको काँडा हुँदैछ अर्थात् न निल्नु न थुक्नु !
राजा महेन्द्रको पाला स्थापित जाउलाखेलमा रहेको सेन्ट–जेभियर स्कूलले २०४७ अगाडी सम्म सबै धर्मको प्रतिक झन्डा आफ्नो कम्पाउण्डमा सजाएर राखेको थियो तर उदारवादी लोकतन्त्रको नेपालमा प्रवेशसंगै मिसनरीले शिक्षाक्षेत्रमा हस्तक्षेप गर्न स्थापित जेभियर स्कूलबाट त्यो सर्वधर्म सद्भावको प्रतिक वस्तु सधैंका लागि झिकियो । यसको सीधाअर्थ हो –उदारतावादको डण्डा केवल हिन्दू, जैन, बौद्ध र किरातीहरूमा चल्छ, मुस्लिम, इसाई, वहावी वा अन्य सम्प्रदायहरूलाई तिनको अनुदारवादको लागि “रातो कार्पेट“ ओछ्याएर स्वागत गरिन्छ ।
वि.स. २०४७ भन्दा पहिले त्यहाँ पढेका धेरै विद्यार्थीहरू देश–विदेशमा जीवित छन् । तर सेन्ट जेभियर सेन्ट मेरी स्कूलले किन सर्वधर्म समन्वयको प्रतिक त्यो सिम्बल किन हटायो भनेर कसैले प्रश्न गरेको देखिन्न, सुनिन्न र तथाकथित धर्मनिरपेक्षतावादी पार्टीहरूको मुखमा त झन् दही नै जमेको छ । यी सबैका लागि हिन्दू, बौद्ध, जैन तथा किरातीहरू उदारवादी बन्न जरूरी छ तर इसाई वा मुस्लिमहरूका लागि कट्टरवादी बन्नु उनको अधिकार हो । इसाई तथा मुस्लिमहरूले “हामी उदारवादी हौँ, हामी कट्टरपन्थी छैनौं र धर्मनिरपेक्षतावादी छौँ“ भन्दिए पुग्छ, हुनु पर्दैन । यी सबै थोकको एकमुस्ठ ठेक्का सरकारले हिन्दू, बोन, जैन, बौद्ध तथा किरातीहरूलाई दिएको छ ।
यदि महेन्द्रले स्थापित गरेको जेभियरबाट सधैंको लागि “धार्मिक सद्भावनाको प्रतिक“ हट्न सक्छ भने अन्य नेपाली विद्यालयहरूमा सर्वधर्म समभावका नाममा रातो कपडा र मा पुच्छर भएको टोपी लगाएर देखाउनुको कुनै औचित्य छैन । रंगीचंगी लुगा र पुच्छर टोपी त जोक्करले पनि लगाउँछन् । इसाईलाई गालीगलौज गर्नु आवश्यक छैन तर दीर्घकालीन षड्यन्त्रको जालो बुन्दै विद्यालय, अस्पताल, एनजिओ/आइएन्जिओमा छिरेका “अतिवादी तत्व“हरूलाई स्वागत गर्न सकिन्न । विषको प्याला बोकेर ल्याउने सिपाहीलाई सुकरातले स्वागत गरे होलान् तर आजको नेपालमा सुकरात होइन सुकरातका जोक्करहरू भरिएका छन् भन्ने संदेश जानैपर्छ ।
आज ठूला–साना बोर्डिंग स्कूलहरूले क्रिसमसको लुगा लगाएर र केही गिफ्ट लिएर आउन वालबालिकालाई उर्दी जारी गरेका छन् । काठमाडौँका मलहरूमा इसाई–रूख सजाइएको छ । तर यदि कसैले सेन्ट मेरी र सेन्ट जेभियरले तीज, दशैं, तिहार, ल्होसार वा अन्य रैथाने पर्वमा क्रिसमसको तदारुकता देखाएको मैले जानेको छैन र न तथाकथित बुद्धिजीवीहरूले प्रश्न उठाएको सुनेको छु । के हिन्दु, जैन, बौद्ध र किरातीहरूले सम्पूर्ण उदारताको ठेक्का लिएका छन् ? यो प्रश्न हामीले आफैसंग सोध्नु पर्ने हुन्छ ।
सत्य के हो भने इसाई विश्वमा सबैभन्दा बढी मान्छेले मान्ने धर्म हो तर नेपालमा भने केवल १.५ प्रतिशतले (नेपाली इसाई समाजले यो सङ्ख्या ४ प्रतिशत हाराहारी मान्छ, यो कुरा महासचिव घटराजले टिवी सोमा बोलेका छन्) तर नेपालका अनेकौं मौलिक धर्म–संस्कृतिलाई नजरन्दाज गर्दै धर्मको महलमा इसाईलाई तेस्रो ठाउँ प्रदान गरिएको छ । यहींबाट बुझ्न सकिन्छ कि आज नेपालका रैथाने धार्मिक समुदायहरूका लागि आफ्नो यो उदारता नै आफ्नो अस्तित्व, पहिचान तथा सहिष्णुतालाई मेटाउने बलियो साधन बनेको छ ।
सम्भवतः यही उदारतावादका कारण गाउँका गाउँ मान्छेले धर्मपरिवर्तन गरेर नेपालीको पहिचानलाई ठाडो चुनौति दिंदा पनि ‘अरू सबै ठीक छ नि?’ भन्दै उदारता प्रदर्शन गरिरहेको छ । इसाईहरूले क्रिसमस मनाउनु, त्यसमा छिमेकीलाई बोलाएर भोजन गराउनु, रमाइलो गर्नु परम्पराअनुसार ठीक हो तर क्रिसमसको आडमा धर्मपरिवर्तन गराउन खोज्नु वा गराउनु संबैधानिक अधिकार हो । सरकार र तथाकथित उदारतावादीहरूले जवाफ दिनु पर्छ र सर्वसाधारणले जवाफ माग्नु पर्छ कि जव कानुनले धर्मपरिवर्तन गर्न/ गराउन बन्देज लगाएको छ भने ३० लाख इसाईहरू आकाशबाट “परमेश्वरले धर्म परिवर्तन गराएर नेपाल पठाएका हुन् ! भनेर मान्नुपर्छ !!!
क्रिसमस मनाउंदै गर्दा हिन्दूहरूसहित जैन, बौद्ध, किरातीहरूले आफ्नो अस्तित्व जोगाउने कि उदारतावादको नाममा “आइज कुकुर मलाई टोक, म आत्महत्या गर्न तयार छु“ भन्दै आफ्नो अस्तित्व, पहिचान तथा मौलिकता नष्ट गर्न प्रोत्साहित गर्ने ? कहीं यस्तो नहोस् कि हाम्रो उदारतावाद नै हाम्रो विनाशको कारण नबनोस् । आशा गर्छु, उप्रान्त नेपालको मौलिक समाज उदार रहेर नै आफ्नो इतिहास, पहिचान र गौरवको यात्रा गर्ने छ ।