आर्यहरूको दर्शनशास्त्र
डा. गोविन्दशरण उपाध्याय ।
मान्छे के हो ? भन्ने विषयमा मतभेद छन् तर मान्छे विवेकशील प्राणी हो भन्ने कुरामा कुनै विवाद छैन । मान्छे जन्मदै विवेकशील हुन्छ कि पछि विवेकशील भन्छ भन्ने विषयमा विवाद छ तर मान्छे चिन्तन, मनन र तुलनात्मक व्यवहार गर्न सक्छ, सिक्न सक्छ भन्ने विषयमा कुनै विवाद छैन । जव मान्छेले संसारलाई बुझ्न थाल्यो, पुराना वा नयाँ घटनाहरूले उसको बुद्धिलाई अचम्भित पार्न थाल्यो, जव आफ्नो र अरूको अस्तित्वप्रति अचम्म लाग्न थाल्यो, त्यसै क्षण मानिसमा दार्शनिकताको जन्म भयो । विवेकीय बुद्धिको उद्भव भयो ।
मान्छेको अस्तित्व भएको ठाउँमा चिन्तनको गंगाको उद्गम भयो । वेदमा आर्यहरूले चिन्तनको ढोका खोले भने पश्चिमाहरूले ग्रीकेली थेल्सबाट र चाइनिजहरू कन्फ्युसियसबाट आफ्नो र विश्वको सम्बन्ध परिभाषित गर्ने प्रयत्न गरे । चिन्तनको गंगा जुन दिन प्रकट भयो, त्यो दिनदेखि आजसम्म अविरलरूपमा बगिरहेको छ । चिन्तनको यो गंगालाई ‘दर्शनशास्त्र’ भनिन्छ ।
आर्यहरूले बुझेको दर्शनशास्त्र र ग्रीकेलीहरूले बुझेको ‘फिलोसफी’मा केही भिन्नता भए पनि स्रोतको विषयमा एकमत छ । यहाँ हामी दर्शनशास्त्रको कुरा गर्ने छौँ । मान्छेको स्वभाव नै आफ्नो धर्म, संस्कार, मान्यता, शास्त्रहरू र देशलाई माया गर्ने हुन्छ । यो एकप्रकारको पक्षपात पनि हो । मेरो जन्म बैदिक संस्कृतिमा भयो, त्यसैले ममा बैदिक धर्म, संस्कृति र दर्शनप्रति पक्षपात छैन भन्न सक्दिन । मेरो जरो र किलो बैदिक–संस्कृति नै हो ।
मैले आफ्नो दार्शनिक–चिन्तनलाई माया नगर्नुको कुनै बलियो कारण पनि छैन । कक्षा चारमा पहिलोपटक अंग्रेजी पढ्ने यात्रा आरम्भ गरेपछि आजसम्म रोकिएको छैन । बुबाले संस्कृत नपढाएको भए आफ्नो ‘जरो’बाट म टाढा हुन्थे । अंग्रेजीमा मैले आफ्नो धर्म र संस्कृति बुझ्नु पर्ने बाध्यता हुन्थ्यो । ‘बा’को करले मैले संस्कृत बुझे भने सरकारी करले अंग्रेजी बुझिरहेको छु । म केही भाग्यशालीहरू मध्ये पर्छु जसले दर्शनशास्त्र र फिलोसफीको भिन्नता स्पस्टतम रूपमा बुझ्न सक्छु, अनुभव गर्न सक्छु र आंशिकरुपमा व्यक्त गर्न सक्छु । ‘जरो’ अर्थात् संस्कृतभाषा नबुझ्ने विद्वानका लागि दर्शनशास्त्र तथा फिलोसफीबीचको भिन्नता बुझ्न सजिलो छैन । दर्शनशास्त्रलाई अंग्रेजी भाषामा बुझ्नेहरू ‘पश्चिमा–बायस’ हुनु स्वाभाविक हुन्छ ।
सन्तको कुरा
धार्मिक बनेर व्यापार गर्नेहरूलाई शास्त्रले “पाखण्डी“ भनेर सम्बोधन गरेको छ । साधु–सन्तको चोला धारण गर्ने, धर्मको उपदेश दिने, त्याग तथा वैराग्यको उपदेश दिने तर स्वयं भने तिनै उपदेश दिंदा प्राप्त धनबाट आजीविका चलाउनेको कार्यलाई पाखण्ड भनिन्छ । पाखण्डीहरूले सधैं आफू र आफ्नो परिवारलाई केन्द्रमा राख्छन् । कुनै पनि व्यक्तिले धार्मिक आवरणमा आफ्नो जयजयकार गराउँछ, आफ्ना परिवारको बर्चश्वका लागि साधनको ढोंग गर्छ भने त्यसको व्यक्तिको पछि लाग्ने र त्यस्ता व्यक्तिको शिष्यत्व स्वीकार गर्ने पनि नर्कमा जान्छ ।
धर्मशास्त्रहरूले विनम्रता, त्याग, वैराग्य तथा पारिवारिक र व्यक्तिगत महत्वाकांक्षरहित व्यक्तिलाई “गुरू, सन्त गुरू, मुनि“आदि शब्दले सम्बोधन गरेको छ । धार्मिक व्यक्तिको सबैभन्दा महत्वपूर्ण पहिचान नै त्यो कुनै प्रकारका व्यक्तिगत इच्छा वा चाहनाबाट मुक्त हुन्छ । उसले आफ्ना लागि केही चाहन्न र गर्दैन पनि । त्याग, तपस्या र संसारका भौतिक गतिविधिबाट आफुलाई वैरागी बनाउँछ । वैराग्यहीन व्यक्ति व्यापारी हुन्छ, गुरू हुनैसक्दैन । तर आवरणलाई हेरेर पाखण्डी र सन्तका बिचमा फरक छुट्याउने निर्णय गर्न सजिलो हुँदैन ।जिज्ञासु आफै पनि साधना गरेको वा साधनको तीब्र इच्छा भएको व्यक्ति हुनुपर्छ ।
सत्य के हो भने आजभोली धर्म र धार्मिकताको आवरणमा व्यापार गर्ने “धार्मिक–व्यापारी“हरूको सङ्ख्या ह्वात्तै बढेको छ । सर्वसाधारणका लागि को धार्मिक र को धार्मिक–व्यापारी भनेर छुट्याउन निकै गाह्रो छ । अनि, आवरणका आधारमा कसैलाई व्यापारी भनेर निर्णय दिनु र कसैलाई सन्त भनेर निर्णय दिनु सजिलो छैन । तर पनि धार्मिकताको कसौटी भनेको वैराग्य, त्याग, सरलता र साधना हो । यदि कुनै व्यक्तिमा वैराग्य छैन र उसको अभिरुचि चाहिं ठूलाठूला आश्रम, धेरै चेलाचेलीआदिमा छ भने शंका गर्ने ठाउँ हुन्छ । यसै गरी त्याग सजिलो कुरा होइन । संसारको त्याग गरें भन्दै ठूला महलहरू खडा गर्ने “ठूलाबडा“ बाबाहरू आजभोली जताततै छन्। यिनले संसार त्यागेका हुन् कि दोश्रो संसारको निर्माण गर्दै छन् ? बुझ्न निकै गाह्रो छ ।
सन्तको तेस्रो पहिचान भनेको सरलता हो । सन्तमा कुनै प्रकारको अभिमान, आडम्बर, देखावटीपन केही पनि हुँदैन । यदि कुनै व्यक्तिलाई भेट्न टिकट लिनुपर्छ वा मूल्य चुकाउनु पर्छ भने त्यो सन्तको सरलता होइन । सन्तका लागि महल र झोपडी, पाँचतारे होटल र जङ्गलको वासमा कुनै फरक हुँदैन । भौतिक सुविधाप्रति उनीहरूको कुनै अभिरुचि हुँदैन । मैले यस्ता धेरै साधुहरू भेटको छु जुन एसी र महङ्गा कारहरू नभएसम्म उपदेश पनि दिंदैनन् । शारीरिक सुखका लागि मरिमेट्नेहरू र अतिभौतिकतामा जिउनेहरूलाई “सरल र सहज“ भन्न मिक्दैन । मलाई थाहा छैन, मैले यो लेख्दै गर्दा धेरैका “गुरू“हरू यो लेखको भुमरीमा पर्न सक्छन् तर मैले पहिले नै भनेको छु कि केवल वाहिरी आवरणका आधारमा निर्णय गर्नु उचित हुँदैन ।
अन्तिम कुरा यत्ति हो कि धार्मिक व्यापारी, पाखण्डी तथा धर्मध्वजसंग जोगिएर गुरू बनाउनु पर्छ । गुरू साधनाहीन र भोगी छ भने शिष्यमा तेही दुर्गुण सर्छन् र नर्कको भागी बन्नुपर्छ । गुरू अनिवार्य छ तर धर्मध्वज र पाखण्डी अस्वीकार्य हुनुपर्छ ।
स्वस्तिअस्तु