कोभिड महामारीको भयानक असरबाट तङ्ग्रिन इन्डोनेशियाको पर्यटन क्षेत्रले सङ्घर्ष गरिरहेको छ । त्यहाँको संसद्ले हालै पारित गरेको नयाँ कानुनले विवाह इतर यौन सम्बन्धलाई गैरकानुनी बनाएपछि त्यसले त्यहाँको पर्यटन व्यवसायमा फेरि असर पु¥याउन सक्ने चिन्ता कतिपयले व्यक्त गरिरहेका छन् ।
यो विवादास्पद कानुनले अविवाहित जोडीलाई सँगै बस्न समेत प्रतिबन्ध लगाएको भन्दै आलोचकहरूले नयाँ कानुनलाई मानव अधिकारका दृष्टिले ‘विपत्ति’को संज्ञा दिएका छन् । कानुनको विरोधमा यो साता जकार्तामा प्रदर्शनहरू भएका छन् र त्यसलाई अदालतमा चुनौती दिने ठानिएको छ ।
आगामी तीन वर्षपछि मात्रै कार्यान्वयनमा आउने संसद्ले बनाएको नयाँ फौजदारी कानुन स्वदेशी र विदेशी दुवै नागरिकहरूमा लागु हुन्छ । यो कानुनबारे नजिकैको अस्ट्रेलियामा व्यापक चर्चा भएको छ र कतिपय अखबारहरूले यसलाई ‘बालीमा यौन मनोरञ्जन प्रतिबन्ध’ शीर्षकमा समाचार प्रकाशित गरेका छन् ।
पर्यटनमा निर्भर अर्थतन्त्र रहेको इन्डोनेशियाका लागि कोभिड महामारी अघिसम्म अस्ट्रेलिया पर्यटकहरूको प्रमुख स्रोत थियो । बालीको न्यानो मौसममा समुद्री तटमा मदिरा पान र रातभरि पार्टीहरूका लागि हजारौँ पर्यटकहरू इन्डोनेशिया पुग्ने गर्छन् । मानिसहरू वैवाहिक कार्यक्रम आयोजनाका लागि पनि बाली पुग्ने गर्छन् ।
अस्ट्रेलियामा उच्च शिक्षा हासिल गरिसकेपछि खुसीयाली मनाउन पनि बाली जाने चलन छ । धेरै अस्ट्रेलियन युवाहरूका लागि बाली सस्तो र छोटो समयमा घुम्ने गन्तव्य हो । तर पछिल्लो कानुनले भविष्यमा मानिसहरूको इन्डोनेशिया भ्रमणको योजनालाई प्रभावित गर्न सक्ने आशङ्काहरू व्यक्त भएका छन् ।
इन्डोनेशियामा पर्यटन सम्बन्धी फेसबुक पेजहरूमा मानिसहरूले नयाँ कानुनले उक्त देशमा घुम्न जाने विदेशीहरूलाई पार्न सक्ने प्रभावबारे चासो राखेका छन् । कतिपयले घुम्न जाँदा विवाह दर्ता प्रमाण पनि सँगै बोकेर जाने भनेका छन् । अविवाहितहरूले आफ्ना प्रेमीसँग होटेलको एउटै कोठामा बस्न नपाउने हो भने इन्डोनेशिया घुम्न नगएर अरू नै ठाउँमा जाने लेखेका छन् ।
‘बालीको पर्यटक उद्योगलाई सखाप बनाउने राम्रो उपाय,’ एक जनाले बाली ट्राभल कम्युनिटीमा लेखेका छन् । अरू कतिपयले यसमा सहमति जनाउँदै नयाँ कानुन कार्यान्वयन हुनेमा आशङ्का व्यक्त गरेका छन् । नयाँ कानुनले विवाहअघि सहवास गरेको भेटिए त्यस्तो जोडीलाई एक वर्षसम्म जेल सजाय हुनसक्ने व्यवस्था गरेको छ ।
लिभिङ टुगेदरमा बस्ने जोडीलाई पनि छ महिनाको जेल सजाय हुने प्रावधान छ । ‘एकजना अस्ट्रेलियन पर्यटकको स्थानीय प्रेमी वा प्रेमिका रहेछ र उनका बुबा आमाले उनीहरूबारे उजुरी गरे भने त्यहाँ समस्या आउने भयो,’ ह्युमन राइट्स वाचका वरिष्ठ अनुसन्धाता एन्ड्रेस हर्सोनोले अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशन एबीसीसँग भने । आगन्तुकहरूलाई धेरै चिन्ता नलिन भनिएको छ।
किनभने परिवारका सदस्यले उजुरी गरेको अवस्थामा मात्रै प्रहरीले यस्तो विषयमा अनुसन्धान गर्छ र शङ्कास्पद अभियुक्तका बुबा–आमा, श्रीमान्–श्रीमती वा बालबच्चाले मात्रै उजुरी गर्न पाउँछन् । हर्सोनो यसले निश्चित व्यक्तिहरूलाई मात्रै कानुनी दायरामा ल्याउने अर्को जोखिम रहेको बताउँछन् ।
‘होटल वा विदेशी पर्यटकले नै प्रहरी अधिकारीहरूलाई घुस खुवाउन सक्छन् र कतिपय राजनीतिज्ञहरूले उनीहरूका विरोधीलाई जेल हाल्न सक्छन्,’ उनले भने । यो कानुनबारे अस्ट्रेलियामा चलिरहेको छलफलमाझ कतिपयले भने यसबारे धेरै चिन्ता लिननपर्ने तर्क गरेका छन् ।
किनभने इन्डोनेशियाको प्रशासनसँग सानो झमेलामा पनि कति गम्भीर समस्या आइलाग्छ भन्ने अस्ट्रेलियनहरू सचेत छन् , इन्डोनेशियाको न्याय मन्त्रालयका प्रवक्ताले उजुरी गर्ने व्यक्ति इन्डोनेशियाली नै हुनुपर्ने भएका कारण पर्यटकहरूले यस्तो कानुनबारे चिन्ता लिनु नपर्ने जनाएका छन् । धेरै परिवार र व्यावसायिक संस्थाहरू कोभिडकालमा भएको घाटाबाट अझै उठ्न सकिरहेका छैनन् ।
सन् २०१९ मा अस्ट्रेलियाबाट मात्रै १२ लाख पर्यटक पुगेको इन्डोनेशियामा सन् २०२१ मा जम्मा ५१ जना मात्रै पर्यटक पुगेका थिए । तर उक्त देशको पर्यटन पुनः फस्टाउँदै छ ।
यो वर्षको जुलाईसम्म मात्रै करिब पाँच लाख पर्यटक त्यहाँ पुगिसकेका छन् । बालीमा सन् २०१७ यता टुर गाइडको रूपमा काम गर्दै आएका योमनले नयाँ कानुनले इन्डोनेशियाको पर्यटनमा नराम्रो प्रभाव पार्न सक्ने बताए ।
‘म निकै चिन्तित भएको छु। किनभने म साँच्चिकै पर्यटनमा मात्रै आश्रित छु,’ उनले भने । केही साताअघि मात्रै इन्डोनेशियाले उक्त टापुमा मानिसहरूलाई १० वर्षसम्म बस्न दिनेगरि नयाँ भिसा योजना सार्वजनिक गरेको थियो ।
बहुसङ्ख्यक मुसलमान रहेको इन्डोनेशियाका धेरै क्षेत्रमा यौन र अन्य सम्बन्धबारे कठोर कानुनी व्यवस्था छैन । इन्डोनेशियाको आचे प्रान्तमा चाहिँ कठोर इस्लामिक कानुन छ । यो प्रान्तमा मानिसहरूलाई जुवा खेल्दा, मदिरा पान गर्दा र विपरीत लिङ्गीसँग भेटघाट गर्दा कानुनी कारबाही हुनसक्छ । सन् २०२१ मा दुई जना पुरुष समलिङ्गीले यौन क्रियाकलाप गरेको भन्दै छिमेकीले आपत्ति जनाएपछि उनीहरूलाई कोर्रा लगाइएको थियो।
बीबीसीबाट

प्रतिक्रिया