नयाँ सरकार गठनका विषयमा सत्तारुढ घटकका शीर्ष नेताबीच छलफल


काठमाडौं । निर्वाचनको मतपरिणाम अन्तिम चरणमा आइपुग्दा सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल भएको छ । सोमबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा उनीहरुबीच वर्तमान गठबन्धनलाई निरन्तरता दिँदै सरकार बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । त्यसका लागि गठबन्धनको औपचारिक बैठक छिट्टै बोलाउने विषयमा छलफल भएको बताइएको छ ।

प्रचण्डले शनिबार पनि प्रधानमन्त्री देउवासँग छलफल गरेका थिए । आजै बिहान नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग भेट गरेका थिए । भेटमा पौडेलले आफू प्रधानमन्त्रीको दाबेदार रहेकाले नेपाललाई सहयोग गर्न आग्रह गरेका बताइएको छ ।

नेपालले भने कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार तय भएर आए सहयोग गर्न तयार रहेको जवाफ दिएका थिए । निर्वाचनको मतपरिणा अन्तिम चरणमा पुग्दा नेपाली कांग्रेस ५३ स्थानमा जीत हासिल गर्दै अग्रस्थानमा छ भने नेकपा माओवादी केन्द्र १७ स्थानमा जित्दै तेस्रो र नेकपा एकीकृत समाजवादीले प्रत्यक्षमा १० स्थानमा जितेको छ । एकीकृत समाजवादी समानुपातिकमा थ्रेस होल्ड कटाउन प्रयासरत छ ।