यो अरु केही होइन, केपी ओलीको सत्ता छाड्नुपर्दाको बर्बराहट मात्र होः माधव नेपाल


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिएपछि बहुलाएर हिँडेको टिप्पणी गरेका छन् ।

बिहीबार विभिन्न पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका नेता, कार्यकर्ताहरुलाई पार्टी केन्द्रीय कार्यालयमा स्वागत गदै अध्यक्ष नेपालले केपी ओलीको सरकार ढालेर आफूले टक्कर दिएपछि अहिले ओली बर्बराउँदै हिँडेको आरोप लगाएका हुन् उनले ओलीलाई कसैले टक्कर दिन सक्दैन भन्ने सोचिरहेको बेलामा आफूले टक्कर दिएर सरकार ढालेको बताए ।

उनले सरकार ढलेपछि अहिले ओली उट्पट्याङ कुरा गरिरहेका भन्दै ओलीका उट्पट्याङ कुराहरुको संकलन गर्नुपर्ने बेला भएको बताए । अध्यक्ष नेपालले अध्यक्ष ओलीले झुटा आक्रोश र बदला पोखिरहेको बताए ।

उनले अरुलाई अपमान गरी आफूलाई सर्वश्रेष्ठ ठान्ने प्रवृत्ति हावी भएपछि आफूले विद्रोह गर्नुपरेको बताए । अध्यक्ष नेपालले नेकपा एमालेले अहिलेको निर्वाचनमा पैसाको खोलो बगाइरहेको आरोप लगाउँदै एमालेको आम्दानीको श्रोत भनेको भ्रष्टाचार र लुट रहेको बताए ।

उनले भने, ‘केपी ओलीलाई कसैले ढाल्नै सक्दैन भन्ने लागेको थियो, ढाल्ने काम गर्यौं, टक्कर दिनै सक्दैन भन्ने लाग्यो, टक्कर दियौँ । टक्कर दिएपछि अहिले देखिरहनुभएको छ, केपी ओली बहुलाएको, बर्बराएको, के के उट्पट्याङ कुरा गरिरहेका छन् ।’