सांख्यदर्शनको बाटो
डा. गोविन्दरण उपाध्याय ।
वैदिक संस्कृतिकाअनुसार मान्छेको जीवन काकताली होइन । अनेकौं जन्मको अथक प्रयासपछि जीवले मनुष्यको जीवन प्राप्त गर्छ । मनुष्य जीवन प्राप्त गर्न देवताहरू पनि इच्छुक हुन्छन् भन्ने तत्थ्य सबैजसो पुराण र स्मृतिहरूले प्रष्टरूपमा उल्लेख गरेका छन् । भगवान् कपिलको सांख्यदर्शनले ईश्वर, प्रकृति, जीव, माया, सृष्टिको उत्पत्तिका विषयमा सर्ग र विसर्ग दूवै गतिको व्याख्या गरेको छ । हो, आधुनिक विज्ञानको चस्माले हेर्दा सांख्यदर्शनको सृष्टिक्रम पढ्दा अन्धविश्वासजस्तो लाग्ला तर जसरी प्रकृतिको सर्ग तथा विसर्गलाई सृष्टिको लागि वर्णन गरिएको छ, त्यो अद्भूत छ । मनुष्यक रूपमा आमाको गर्भमा जीवको प्रवेश, गर्भमा उसको विकास, गर्भमा ज्ञान, जन्मका लागि प्रार्थना र मान्छेको जीवनको भोगाईका विषयहरू बडो मार्मिक छ । सांख्यदर्शन मूलतः तत्व विवेचना गर्ने दार्शनिक दृष्टिकोण भए पनि भगवान कपिलले मनुष्य जीवनको सफलता भगवानको चिन्तन गर्नु र परोपकार जीवन विताउनुमा छ भन्ने तत्थ्य देवहुतिलाई बताउनु भएको छ ।
भगवान् कपिलको आग्रह छः मनुष्य जीवन बडो भाग्य र परिश्रण (पूर्वजन्ममा गरेका असल कर्मका कारण) प्राप्त भएको हो, यसलाई पूर्णतया शास्त्रीय आदेशहरूको परिपालना गर्दै धर्मपूर्वक जीवन यापन गरेर मोक्ष प्राप्तिका लागि प्रयोग गर्नुपर्छ । पूर्वजन्मका विषयमा “याद छैन“ भनेर जीवनलाई जथाभावी वा स्वेच्छाचारी तवरले प्रयोग गरियो भने पुनः ८४ लाख जीवनको चक्रमा फंसेर दुःखप्राप्त हुन्छ ।
धर्मपूर्वक जीवनको प्रयोग गर्दा दुःख मुक्तिका लागि प्रयत्न गर्नुनै पर्दैन किनभने प्राकृतिक सर्ग तथा विसर्गको रहस्य बुझ्दासाथ मन, बुद्धि, अहङ्कार स्वतः भगवानको भक्तिप्रति आकर्षित हुन्छ । एउटा ज्ञानप्राप्त व्यक्तिले सुखदुःखका लागि होइन भगवानलाई खुसी बनाएर मोक्ष, भगवानका दीव्यधामको चाहना गर्छ । धेरैले सांख्यदर्शनलाई अनिश्वरवादी दर्शन भन्ने गर्छन् तर श्रीमद्भागवतमा महामुनि कपिलले माता देवहुतिलाई दिएको उपदेशमा जीवनको चरमलक्षनै भगवानको भक्ति भएको प्रष्टसंग बताउनु भएको छ । अतः सांख्यदर्शनको अन्तिम लक्ष प्रकृतिको पाशबाट मुक्ति प्राप्त गरेर अनन्तः पुरुषको सान्निध्य प्राप्त गर्नुनै हो भन्ने तत्थ्यमा भ्रमित हुनुपर्दैन ।
स्वस्तिअस्तु ।