काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावललाई अछाम– १ बाट प्रतिनिधिसभाको उम्मेदवार बन्नबाट रोक लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्षका लागि चुनाव लडेका रावलको ठाउँमा माओवादी केन्द्रबाट एमाले आएका झपट बोहराले टिकट पाएका छन्। यससँगै रावलले यसपटक एमालेबाट चुनाव लड्न नपाउने भएका छन् ।
अछाम– १ प्रदेश सभामा भने कृष्णप्रसाद जैशी र देवबहादुर कुँवरलाई टिकट दिइएको छ। यसैगरी अछाम– २ को प्रतिनिधिसभामा यज्ञ बोगटीले टिकट पाएका छन् भने प्रदेश सभामा भीम विष्ट र शिव उपाध्याय चुनाव लड्नेछन् । बाजुराको प्रतिनिधि सभामा कर्णबहादुर थापा, प्रदेश सभामा लालबहादुर थापा र बलदेव रेग्मी, बझाङको प्रतिनिधिसभामा ऐन महर, प्रदेशसभामा अफिलाल ओखेडा र एलबी रावल एमालेका तर्फबाट उम्मेदवार बनेका छन् ।
दार्चुलाबाट प्रतिनिधिसभामा गणेश ठगुन्ना दोहोरिने भएका छन्। प्रदेशसभा हर्देब जोशी र रामदत्त जोशी उम्मेदवार बन्नेछन् । बैतडीमा प्रतिनिधिसभाका लागि दामोदर भण्डारी उम्मेदवार बनेका छन् भने प्रदेशसभामा सुरेन्द्र पाल र लीलाधर भट्ट चयन भएका छन् । डडेलधुराको प्रतिनिधिसभामा कांग्रेस बीपीका कर्ण मल्ललाई समर्थन गर्ने नीति एमालेले लिएको छ। प्रदेशसभा पठानसिंह बोहोरा र गजेन्द्र शाहीलाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया