काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदमको बचाउ गरेका छन् । बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले संविधानको धारा ८१ को सरकारबाट उल्लंघन भएको आरोप लगाए ।
उनले सरकारले पटक पटक धारा १८१ उल्लंघन गरेको आरोप लगाएका छन् । उनले भने,‘मैले संसदको एक वर्ष अगाडि नै उभिएर भनेको थिएँ संविधानको धारा १८१ तर्फ सरकारको ध्यान जाओस्, संविधानको पालना सरकारले गरोस् ।संविधान विधेयकहरू संसदमा पेस गर्नुपूर्व राष्ट्रपतिसँग सल्लाह गर्नुपर्छ, राष्ट्रपतिसँग स्वीकृति लिनुपर्छ, राष्ट्रपतिलाई ब्रिफिङ गरेको हुनुपर्छ भन्छ । यो अहंकारी गठबन्धनले संविधानको धारा १८१ एकपल्ट पनि पालना गरेन ।’
धारा ८१ त्यो हो जहाँ सरकारले संसदमा पेस गर्नुपर्ने विधेयकबारे राष्ट्रपतिलाई जानकारी दिनुपर्ने उल्लेख छ । उनले गठबन्धनलाई अनाडीको संज्ञा दिएका छन् । उनले भने, ‘बाहिरबाहिर बसेर अनाडी मान्छे भेला भएर, अनाडी मान्छे बसेर, संविधानले नचिनेका व्यक्ति बसेर राष्ट्रपतिको मजाक उडाउने काम भएको छ ।’
अध्यक्ष ओलीले सत्ता गठबन्धनले देशमा स्वेच्छचारीतन्त्र चलाउँदा अकुपाई बालुवाटार भनेर तमासा गर्नेहरू मौन बसेको भन्दै आपत्ति जनाए । उनले देशको प्रधानन्यायाधीशलाई गैरकानूनी ढंगले नजरबन्दमा राख्दा कोही नबोलेको भन्दै आपत्ति जनाए ।
अध्यक्ष ओलीले गठबन्धनसँग गन्तव्य नभएको र सत्ताका लागि मरिहत्ते गर्ने गरेको बताए । उनले भने,’ गठबन्धनलाई सोध्न चाहन्छु, तपाईंको गन्तव्य के हो ? एउटा जसरी पनि सत्ता प्राप्त गर्ने ? घुँडा टेकेर सुरुवाल माथि तान्न लगाएर हेर्नुहोस् त घुँडा।’

प्रतिक्रिया