विद्यार्थीलाई खोला तारेर भिजेकै कपडामा पढाउनुपर्ने ‘हेडसर’को बाध्यता
हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका– १२ धेत्रे दमारमा रहेको कालाभैरव प्राथमिक विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीलाई प्रत्येक बिहान ९ बजे खोला तार्नुपर्ने विद्यालयका प्रधानाध्यापक चेतबहादुर घलेको दैनिकी नै बनेको छ । विद्यालय जाने बाटोमा पर्ने सिमात खोलामा पुल नहुँदा विद्यार्थीलाई खोला तार्नुपर्ने उनको दैनिकी हो ।
विद्यार्थीलाई खोला तारेर विद्यालय पुगेर भिजेकै कपडामा अध्यापन गराउने गरेको प्रअ घलेले बताए । विसं २०७० बाट शिक्षण पेशामा लागेका ३९ वर्षीय घले करिब आठ महिना अगाडि घर नजिकै रहेको उक्त विद्यालयमा सरुवा भएर आएका हुन् । उनी भन्छन्, “घर पाएक पारेर त आइयो तर विद्यार्थीको सुरक्षाका कारण भिजेकै कमडामा पढाउन बाध्य छु ।” खोला तारेर विद्यालय पुर्याइएका विद्यार्थी पढ्ने विद्यालय भवनको पनि एकपाखो पर्खाल भूकम्पले भत्काएर जोखिम भइसकेको उनले बताए ।
वर्षातमा मौसम हेरेर कहिलेकाहीँ त बीचमा नै विद्यालय छोडेर विद्यार्थीसहित खोला तरिहाल्नुपर्ने बाध्यता रहेको प्रअ घलेले बताए । कतिपय बालबालिका त खोलाको जोखिमकै कारण विद्यालय नआउने गरेको उनको भनाइ छ ।
उनले आफू कालाभैरवमा आइसकेपछि वडा कार्यालय, गाउँपालिका र मन्त्रालयसम्म विद्यालय भवन र पुलको विषय लिएर पटकपटक अनुरोध गर्न पुगेको बताए । उक्त स्थानबाट नजिक रहेका अरु दुई वटा विद्यालय पनि छन् तर उक्त विद्यालयमा पुग्न पनि एकदेखि दुई घण्टा थप समय लाग्ने प्रअ घलेले बताए ।
कक्षा ३ सम्म अध्ययन हुने विद्यालय भवन निर्माणका लागि विभिन्न निकायमा पहल गर्दा ‘एस्थर बेञ्जामिन’ र ‘चाइल्ड रेस्क्यु’ नामक सामाजिक संस्थाले असार महिनामा दुई कोठे भवन बनाउने प्रतिबद्धता जनाएको तर सम्झौता भने हुन बाँकी रहेको प्रअ घलेले जानकारी दिए ।
सिमात खोला तर्न वर्षामा विद्यार्थीहरुले समस्या भोग्नुपरेको उनको भनाइ छ । तामाङ समुदायको बाहुल्यता रहेको विद्यालयमा हाल २७ जना विद्यार्थी अध्ययनरत छन् । जसमध्ये छात्रा १७ र छात्र १० जना रहेको विद्यालयले जनाएको छ ।
धेत्रे र चुवार पाखाका बालबालिकालाई खोला बढेका बेला शिक्षक र स्थानीयले साना बालबालिकालाई खोला तारिदिने गरेको स्थानीय समाजसेवी रुपेन घलेले जानकारी दिए । स्थानीय, अभिभावक तथा विद्यालयका प्रअले झोलुङ्गे पुल नहँुदा विद्यार्थी विद्यालय आवतजावत गर्न समस्या परेको पालिका तथा वडालाई जानकारी गराए पनि झोलुङ्गे पुल निर्माण गर्न सरोकारवाला निकायले चासो नदेखाएको उनीहरुको गुनासो छ ।
विसं २०५३ मा स्थापना भएको यस विद्यालयमा राहत दरबन्दी एक जना प्रधानाध्यापक र एक जना कार्यालय सहयोगी मात्रै रहेका छन् । बालकक्षा शिक्षिका भने अभाव रहेको विद्यालयले जनाएको छ ।