सिडिओ वहस
डा. गोविन्दशरण उपाध्याय ।
यो कथा होइन – (सिडिओ वहस)
समय मध्यान्हः १२ः२२
नागरिकता प्राप्त गर्न सिडिओ अफिस जानै पर्छ । उनी भर्खरै १६ वर्ष टेकेकी थिइन् । यो उमेर नागरिकता परिचयपत्र प्राप्त गरेर ‘पूर्णनागरिक’ बन्ने हो । उनी सिडिओ अफिसमा थिइन् । म पनि यसै मेलोमा सिडिओ अफिसमा पुगेको थिएँ । सडक र सदन जताततै नागरिकता विधेयकको चर्चा छ । म पनि लाइनमा उभिएर पालो सधाउँदै थिएँ । नागरिकता विधेयक वारे नागरिकता कुर्दै गर्दा बहस नचल्ने कुरा भएन ।
कति धेरै नागरिकता बंशज, जन्मसिद्ध, आंगिक, विशेष – मेरोचाहिं बंशज नै हो उनले जिस्किंदै भनिन् । चुनावको मुखमा नागरिकता विधेयक किन चाहिएको होला सरकारलाई ? अर्का युवाले कुरा अगाडी बढाए । भारतीय हुलेर भोट बढाउने रे – तेस्रो युवा जंगिए ।
होइन, यो नागरिकताको समस्या जहिलेपनि मधेश प्रदेशमा मात्रै किन हुन्छ ? अर्कोले सोधे -भारतीय ज्वाईलाई नेपाल भित्राउन रे ? तेस्रो युवाले मुसुक्क हाँस्दै कुरा काटे ।
तर मधेशीलाई पहाडीहरूले नागरिकताका सवालमा बढी नै अविश्वास गर्छन् रे नि त ? एकजना बालिकाले सोधिन् । त्यसो भए लाखौंले तेसै नागरिकता पाएका हुन् त ? नेपाली भएर नै त पाएका होलान् ।ज्वाईहरू पनि बेस्सरी आएकै छन् । मैले पनि चिनेकी छु र “धेरै पहाडेसंग पनि दोहोरो नागरिकता छ । गोर्खा आर्मी त भारतीय नागरिक नै हुन्छन् कि ? एकजनाले व्यंग गरिन् ।
अनि, ज्वाईंहरू त दार्चुला र धार्चुलामा पनि त छन् नि, उनीहरूलाई नागरिकताको समस्या नहुने, यिनै मधेश प्रदेशका लागि किन हुने ?– अर्कोले प्रश्न गरिन् ।
हो नि, पहाडतिर खासै नागरिकताको समस्या सुनिन्न । सर्जिमन गरेपछि गापाले सिफारिस गरिदिन्छ । हाम्रा पनि बाबुको टुङ्गो नहुनेले नागरिकता पाएकै छन् – अर्कोले बोल्यो ।
भारतमा थारूहरू पनि थुप्रै छन् तर थारूहरूले त नकारिकताको समस्या भयो भनेको कहिले सुनिन्न ! यी झा, यादवजस्ता थरका मान्छेलाई मात्रै नागरिकको समस्याले गाँज्दो रहेछ ! दाल में कुछ तो काला है – अर्कोले चुत्त्की लिए ।
अब राष्ट्रिय परिचयपत्र बन्दैछ भने बायोमेट्रिक गरेर सबैलाई यही दिए हुँदैन र ? अनि, राष्ट्रिय परिचयपत्र लिन पनि नागरिकता चाहिने रे ! गाइजात्रा अर्कीले भनिन् ।
यही राष्ट्रिय परिचयपत्र बनाउन छुट्लान् भनेर मदेश प्रदेशले ज्वाईंराजा र तिनका शाखासन्तान भित्राउन नागरिकताको विधेयक मागेका रे ? अर्कोले बोल्यो ।
मैले केही दिनदेखि टेलिभिजन र पत्रपत्रिकामा नागरिकता चाहियो भन्दै झा, यादव, महतोहरूमात्रै उफ्रेकी देखेकी छु । यदि यो राष्ट्रीय समस्या हुन्थ्यो भने कुनै एक टेलिभिजनमा पौडेल, पराजुली, गुरुङआदि थर भएको मान्छे पनि भेटिन्थ्यो, होइन र ? अर्कोले किशोरले थपे ।
यी राजनीति गर्नेले जनतालाई भेडा बनाएका छन् । नेपालीले नागरिकता पाउनुपर्छ र विदेशीले कत्ति पाउनु हुँदैन–यति जावो कुराको बन्दोबस्त गर्न नसक्ने सरकारहरू एकचम्चा पानीमे डुवेर मरे हुन्छ – एउटी किशोरी झर्किंदै ठूलो स्वरमा बोलिन् ।
यतिवेलासम्म मेरो लाइनको काम सकिएको थियो । सायद यो बहस लामै चले होला । मैले भने आफ्नो बुद्धिले टिप्न भ्याएका १७–१७ वर्षे बालबालिका (युवायुवती भन्न मिल्दैन होला!) यत्तिमात्र बहस अंश यहाँ समक्ष राख्न सकें । मैले आफूखुसी थपेको यही तलको हरफ हो तर प्रश्नचाहिं मेरा पनि हुन् । सायद तपाईंका पनि । चारपाँच जनाको कठपुतली संसदसँग यसको उत्तर छैन भन्ने विश्वास गर्छु ।