काठमाडौं । चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु चार दिने भ्रमणका लागि आज काठमाडौं आउँदैछन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) मा तेस्रो र चीनको संविधानअनुसार राज्य सत्ताको भूमिकामा दोस्रो वरियताका चान्सु सभामुख अग्नि सापकोटाको औपचारिक निमन्त्रणामा काठमाडौं आउन लागेका हुन् ।
भ्रमणका क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख सापकोटा लगायतसँग भेटवार्ता गर्नेछन् । प्रमुख दलका शीर्ष नेताहरूसँग पनि भेट हुने बताइएको छ । गत २५ चैतमा भएको भर्चुअल संवादका क्रममा सापकोटाले चिनियाँ जनकंग्रेस अध्यक्ष चान्सुलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिएका थिए ।
चिनियाँ जनकंग्रेसका अध्यक्ष चान्सु नेपाल भ्रमणमा आउने राष्ट्रपति सी जिनपिङ पछिका दोस्रो ठूलो तहका नेता हुन् । सीले २०७६ सालको २५ देखि २७ असोजसम्म राजकीय भ्रमण गरेका थिए । त्यसपछि चीनबाट विभिन्न तहका भ्रमणहरू निरन्तर भइरहेका छन् ।

प्रतिक्रिया