काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुईवर्ष पनि दल टिकाउन नसक्नेहरुले देशको विकास गर्ने कुरा सम्भव नरहेको बताएका छन् । शनिबार नयाँबानेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले रवीन्द्र मिश्रप्रति इंगित गर्दै दुई वर्षसम्म पार्टी टिकाउन नसक्नेले देश विकास गर्न नसक्ने बताए ।
सिंहले पार्टी खोल्नु नाङ्लोमा पसल खोलेर चलाउनु जस्तो नभएको भन्दै मिश्रप्रति पार्टी टिकाएर देखाउन चुनौती दिए। उनले आफ्नो निर्वाचन क्षेत्रमा नयाँ पार्टीको हावा चाँडै फैलिने गरेको उल्लेख गर्दै विचार गरेर मात्रै भोट हाल्न मतदाताहरूसँग आग्रह गरे ।
उनले देश विकास गर्न पुराना पार्टी काँग्रेस र कम्युनिष्ट पार्टीहरूलाई पनि गाह्रो परिरहेको बेलामा नयाँ पार्टीहरुले कुनै काम गर्न नसक्ने जिकिर गरे । उनले परिवर्तन गर्छु भनेर आएका दलहरु अहिले कहाँ छन् ? भन्दै प्रश्नसमेत गरे ।
नेता सिंहले स्थानीय र प्रदेश सरकारलाई आफ्ना अधिकार नदिँदा संघीयतामाथि प्रश्न उठेको बताए । उनले जनताको बहुमत पाउँदा समेत कम्युनिष्ट पार्टीहरुले संघीयताका कानून बनाइदिँदा संघीयतामाथि प्रश्न उठेको आरोप लगाए । नेता सिंहले ट्रयाकबाट बाहिर गएको मुलुकलाई ट्रयाकमा ल्याउने काम कांग्रेसले गठबन्धन बनाएर गरिरहेको उल्लेख गर्दै आगामी निर्वाचनमा जितेर कांग्रेसले देश विकास गर्ने बताए ।

प्रतिक्रिया