पोखरा । नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले निर्वाचनअघि नेकपा(माओवादी केन्द्र)सँग पार्टी एकता सम्भव नभएको र कार्यगत एकतामात्र हुने बताएका छन् ।
समाजवादी प्रेस सङ्गठनले शुक्रबार साँझ पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले आसन्न निर्वाचनमा दुई पार्टीको घोषणापत्रसहित चुनावी तालमेल भए पनि एकता नहुने स्पष्ट पारे । उनले भने, “विगतको निर्वाचनमा माओवादी र एमाले साझा घोषणापत्र बनाएर चुनावमा गएका हुन्, अहिले पनि समाजवादी र माओवादी एउटै घोषणापत्र लिएर जान कुनै समस्या छैन ।”
खनालले आफू सधैँ वामगठबन्धन र कम्युनिष्ट एकताका पक्षमा रहे पनि वाम घटकका नेतृत्वमा रहेका नेताहरुले एकतामा रुचि नदेखाएको जिकिर गरे । सत्ता गठबन्धनका दलकाबीच चुनावी तालमेलको निर्णय भइसकेकाले गठबन्धन हुने निश्चित भएको र सिट बाँडफाँटमा पनि ९० प्रतिशत सहमति भएकाले ढिलोमा आगामी आइतबारसम्म टुङ्गो लाग्ने बताए ।
सम्मानित नेता खनालले आगामी निर्वाचनमा राष्ट्रियताका लागि लड्ने उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिए । उनले भने, “देशको राष्ट्रियता, स्वतन्त्रता, स्वाभिमान र समाजवादका लागि लड्ने योद्धालाई निर्वाचनमा विजयी बनाउनु आवश्यक छ ।”

प्रतिक्रिया