केपी ओलीको मनोमानी चल्न नदिन गठबन्धनः प्रधानमन्त्री


भरतपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनलाई बचाएर लैजान आवश्यक रहेको बताएका छन्। बीपी जयन्तीको अवसरमा नेपाली कांग्रेस चितवनले शुक्रबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले कुनै पनि बहानामा वर्तमान सत्ता गठबन्धन नटुट्ने बताएका हुन् ।

देउवाले गठबन्धनको विरोध गर्नु पार्टीविरूद्ध हुने पनि बताए । उनले भने, ‘कुनै पनि शक्तिले वर्तमान गठबन्धनलाई भत्काउन सक्दैन। गठबन्धन टुटाउन षड्यन्त्र भइरहेको छ।’ पार्टीको फाइदा हुने गरेर सिट बाँटफाँट गरिने भन्दै प्रधानमन्त्री देउवाले पार्टीलाई एक बनाउन लाग्न कार्यकर्तालाई आग्रह गरे ।

देउवाले केपी ओलीको सरकारबाट आत्तिएर कार्यकर्ताले हटाउनु पर्यो भनेपछि गठबन्धन बनेको उनले बताए । गठबन्धन नहुँदा केपी ओलीको मनोमानी चल्ने गरेको उनले बताए ।

प्रजातन्त्र सुदृढीकरणका लागि बीपीको भूमिका अग्रणी रहेको बताए । पार्टीलाई बेफाइदा हुनेगरी सिट बाँटफाँट नहुने उनले बताए । गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धन निर्वाचनमा जाँदा कांग्रेसका केही साथीहरुलाई मर्का पर्ने भएपनि स्वीकार गर्नुपर्ने बताए।