काठमाडौं । नेकपा एमालेले सरकारले आगामी निर्वाचनलाई लक्षित गर्दै कर्मचारीको सरुवा बढुवा गरेको आरोप लगाएको छ । बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै भट्टराईले अहिले निर्वाचनलक्षित गर्दै सरकारले प्रहरी, कर्मचारीदेखि स्थानीय तहसम्म सरुवा गरेको आरोप लगाए।
उनले सरुवा भएर जाने कर्मचारीलाई कुनै एक दलको पक्षमा काम गरेमा एमाले चुप लागेर नबस्ने चेतावनी दिए । उनले निर्वाचन घोषणा गरेपछि सरकारले दीर्घकालीन महत्वका कतिपय निर्णय गर्न नमिल्ने तर अहिलेको सरकारले गरिरहेको आरोप लगाए ।
उनले भने,‘आसन्न निर्वाचन प्रभाव पार्नेगरी प्रहरी, प्रमुख जिल्ला अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत पठाउने काम सरकारले गरिरहेको छ । वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा आस्थाका आधारमा चरम दमन गरिएको थियो। अब पनि यस्तै हुनसक्नेतर्फ सचेत छौं। त्यसमा नेकपा एमाले चुप लागेर बस्दैन।’
जनताले स्वतन्त्रपूर्वक निर्वाचनमा भाग लिने र आफूले चाहेको मानिसलाई मतदान गर्न नदिने कार्य भएमा एमाले त्यसै नबस्ने उनले चेतावनी दिए । उनले भने,‘कुनै एउटा दलको आस्था बोकेर जानेहरुलाई एमालेको चुनौती छ, हामी चुप लागेर बस्नेवाला छैनौं । कुनै पनि अवस्थामा एमाले प्रतिवाद गर्नेछ। त्यसैले सबै सरुवा नगरेर मंसिरसम्म उनीहरु रहेकै स्थानमा कायम गर्न आग्रह गर्छु।’

प्रतिक्रिया