अत्तरिया (कैलाली) । नेकपा एमालेका महसचिव शंकर पोखरेलले पाँचदलीय गठबन्धन कसरी जन्मिएको रहेछ र परमादेशको रहस्य के रहेछ खुल्दै गएको बताएका छन् ।
सुदूरपश्चिमका वैतडी, दार्चुला र डडेलधुरामा पार्टीका प्रशिक्षण लगायतका विभिन्न कार्यक्रम सकेर राजधानी फर्कने क्रममा आइतबार अत्तरियामा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूविरुद्धको महाभियोग प्रस्तावमा छलफलका क्रममा वयान दिँदा जे कुरा बाहिर आएका छन् त्यसले परमादेशको रहस्य खुल्दै गएको बताएका हुन् ।
महासचिव पोखरेलले भने, ‘नेकपा (एमाले) र यसका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियताका पक्षमा, नाकाबन्दी विफल बनाउन, चुच्चे नक्शा प्रकाशन, देशलाई जातीय राज्यमा विभाजन रोक्न निर्वाह गरेको भूमिका जस्ता देश र जनताको हितका कदमको प्रतिशोध लिनका लागि पाँचदलीय गठबन्धन जन्माइएको हो । फास्ट ट्रयाक सडक निर्माणको काम रोक्ने प्रयास भएको र त्यसमा आन्तरिक मात्र नभई वाह्य स्वार्थ रहेको तर त्यो चाहना एमालेको सरकारले पूरा हुन नदिएको, विकास र समृद्धिको यात्राका क्रममा ठूला परियोजनाहरु अगाडि सारेको मन नपराएकाहरुले एमालेलाई सरकारबाट हटाउनका लागि पाँचदलीय गठबन्धनको जन्म भएको हो भन्ने कुरा सबैले बुझ्नुपर्छ ।’
उनले राणाको बयान आफूहरुको पक्षमा नभएपछि पाँचदलीय गठबन्धनले बयान रोक्ने प्रयास गरेको बताए । महाभियोग प्रस्ताव तत्कालै छलफलमा लैजानुपर्नेमा सभामुखले न्यूनतम मर्यादाको पनि ख्याल नगरी महिनौं रोकेर नयाँ नजिर बनाएको महासचिव पोखरेलको भनाई थियो ।
महासचिव पोखरेलले देशको अर्थतन्त्रको एकबर्ष अघि र अहिलेको अवस्थाकाबारेमा चर्चा गर्दै गठबन्धन सरकारको एकबर्षको काम गराईबाट पनि यो गठबन्धन नेपाल राष्ट्र र नेपाली जनताको हितमा छैन भन्ने देखिएको बताए ।
महासचिव पोखरेलले आगामी निर्वाचन स्वार्थको गठबन्धनका पक्षमा लाग्ने कि विकास र समृद्धिको एजेण्डाका साथ राष्ट्रिय शक्तिका रुपमा अगाडि बढिरहेको एमालेको पक्षमा लाग्ने भन्ने जनमत सङ्ग्रहका रुपमा रहेको बताए । महासचिव पोखरेलले नागरिकता विधेयकमा गठबन्धन सरकारमा रहेका दलहरुको गलत चरित्र उजागर भएको बताए ।

प्रतिक्रिया