२०४७ यताका सबै प्रधानन्यायाधीश किन परे विवादमा ?



जेपी गुप्ता ।
बि.स. २०४७ यता चोलेन्द्र शम्सेर २२ औं प्रधानन्यायाधीश हुन् । यस अवधिका हरेक प्रधानन्यायाधीश विवादमा परी बहिर्गमन हुनु परेको क्रममा यिनी पनि अपवादमा रहेनन् । तुलनात्मक रूपमा यिनी त झन् महाविवादमा परे । यस श्रृंखलाका कतिपय चर्चित न्यायाधीशहरूको जस्तै यिनको अवकाश पश्चातको सार्वजनिक जीवन पनि सहज रहने छैन ।

चोलेन्द्र शम्सेरका उपर संसदमा महाअभियोग दर्ता गरिएपछि यिनी सार्वजिक रूपमा कुनै प्रतिकृया दिएनन् । चुपचाप नै रहे । संसदको राजनीतिक समीकरण र मुख्य प्रतिपक्षी एमालेका प्रति आशावादी रहेकाले आफू पुनः अदालतमा फर्किने यिनको आश थियो होला । यिनले एमालेलाई कुनै ठूलो गुण त लाउन पाएनन् । यद्यपि पछि बनेको एमाले विरोधी सत्ता गठबन्धनको कारणले एमाले थोरै सहानुभूति राखेको देखिन्छ । अबको स्थितिमा संसद भित्र प्रायसः मञ्चन हुने तिकडमी खेलका कारणले यिनको अदालतमा फर्किने संभावना रहेन । साथै, यिनीविरूद्धको महाअभियोग पारित हुने संभावना पनि देखिदैन। शायद यस कारणले पनि होला चोलेन्द्र शम्सेर अत्यन्त मुखर तथा उग्ररूपमा संसदीय समिति समक्ष प्रस्तुत हुँदैछन् । उनको प्रस्तुतीले नेपाली राजनीतिमा कायम रहेको सम्भवतः आजसम्मका सबैभन्दा बिकराल पक्षलाई छताछुल्ल पारेको छ। यस बिषयमा प्रवेश गर्नु मेरो मनशाय होइन। मैले यहाँ, पछिल्लो समयमा नेपालको अदालतले भोग्नु परिरहेको परिस्थितिको बारेमा लेख्न चाहेको हुँ ।

मुलुकमा संसदीय प्रजातन्त्रको पुनर्स्थापना पछि प्रधानन्यायाधीश मध्ये विश्वनाथ उपाध्याय सर्वाधिक चर्चामा रहे । बि.स. २०४७ सालको बहुदलीय संविधानका उनी मुख्य निर्माता थिए। दरबारको शहमा सेनाका जर्नेलहरू बुट बजार्दै संविधान मस्यौदा समितिको अफिसमा पुग्दा पनि उनी अप्रभावित तथा अटल रहेका थिए । नयाँ संविधानका लागि नवोदित एमालेको अनेकन् कठिन सुझावहरू थियो जो संविधानवादसँग मेल खादैन्थ्यो–यस्तो कठिन समयमा विश्वनाथ उपाध्यायले संविधानको मस्यौदा तयार पारेका थिए । तर केही बर्ष नबित्दै उनी एमाले पार्टीको नजरमा अपराधी ठहरिए । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सिफारिश गरेको संसदको पहिलो बिघटनलाई सदर गरेर र पछि प्रधानमन्त्री मनमोहन अधिकारीले सिफारिश गरेको संसदको बिघटनलाई बदर गरेर उनी नेपाली कांग्रेसका गिरिजा बिरोधी खेमा तथा एमाले पार्टीको कोपभाजनमा परे । यसका अतिरिक्त आफ्ना सहोदर भाइ केदारनाथ उपाध्यायलाई सर्वोच्च अदालतमा प्रवेश गराए साथै उनी भन्दा वरिष्ठ न्यायाधीश कृष्णजंग रायमाझीलाई पन्छाएर न्यायपरिषदको सिफारिशमा प्रधानन्यायाधीश हुनु विवादजन्य कारण मानिन्छ। यहीँबाट एमालेले सर्वोच्च अदालतलाई स्वार्थको सर्वोच्च स्थानमा राख्यो, काँग्रेसले पनि सोही कुराको अनुशरण गर्दै गयो ।

एमालेले अर्का प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहलाई पासोमा पार्यो । उनीबिरूद्ध संसदमा महाअभियोगको प्रस्ताव लिई आयो। तत्कालिन सभामुख रामचन्द्र पौडेलले सभामुखको विशेषाधिकारको आधारमा सो प्रस्ताव उपर छलफल गर्न अस्वीकार गरेपछि सभामुख पौडेल माथि शारिरीरक प्रहार भयो। मध्यरातमा एमालेका सांसदहरूले सभामुखको कार्यकक्ष फुटाले । शायद एमालेको यस प्रकरणले पहिलो पटक स्थापित गर्यो कि न्यायाधीशको आसनमा निर्विघ्न बस्न राजनीतिक शक्तिको पक्षपोषण गर्नु जरूरी छ । सुरेन्द्र प्रसाद सिंह आफ्नो आँखाको आँशु आँखा मै सुकाएर अवकाश पाई बिदा भए। आफूले भोगेको अपमान बारे यिनी पछिसम्म सुनाई रहन्थे ।

प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायलाई नेपार बारले अकर्मण्य ठहराएका थिए । यिनको समयमा सरकार माओवादहरूलाई आतंककारी घोषित गरेको थियो । तर, यिनी माओवादीमैत्री रहेको आरोप तत्कालिन सरकारका मन्त्रीहरूले लगाउने गर्थे । ठिक यस विपरीत माओवादीहरूले भने जिल्ला भ्रमणको क्रममा यिनको मोटरलाई एम्बुसमा पारेका थिए, यिनको ज्यान जोगियो ।

केदारप्रसाद गिरीलाई एमालेले रूचाएको थिएन। यिनको पुत्रलाई तत्कालिन गृहमन्त्री खुमबहादुर खड्काले प्रहरी सेवामा प्रवेश गराएको तथा गिरीको हिमछिम काँग्रेसीहरूसँग रहेको कुरा एमालेलाई पचेको थिएन । बास्तवमा धनुषा निवासी केदार गिरीको पारिवारिक पृष्ठभूमि नेपाली काँग्रेस पक्षधर रहेको थियो। संसदीय अनुमोदनको क्रममा एमालेले केदार गिरीको लागि गरिएको सिफारिशलाई पास हुन दिएन । यद्यपि त्यसबेलाको संविधानका प्रावधान अनुसार संसदीय समितिले यिनको नाममा मोहर नठोकेपनि प्रधानमन्त्री (शायद गिरिजाप्रसाद कोइराला) को सिफारिशमा केदार गिरी राष्ट्रपतिबाट प्रधानन्यायाधीशमा नियुक्त गरिए।

केदारप्रसाद गिरीलाई अन्तिम समयसम्म एमालेले पत्याएन । यिनको अवकाश हुनु अघि भावी प्रधानन्यायाधीशको लागि न्यायपरिषदबाट वरिष्ठतम् न्यायाधीश रहेका मीनबहादुर रायमाझीको नाम सिफारिश गरिएको थियो। यस सिफारिशलाई एमाले र माओवादी दुबैले मन पराएनन् । प्रचण्ड प्रधानमन्त्री थिए। उनले लामो समयसम्म संवैधानिक परिषदको बैठक डाकेनन्। एमाले र माओवादी दुबैले मीनबहादुर रायमाझी भन्दा कनिष्ठ रहेका खिलराज रेग्मीलाई प्रधानन्यायाधीश बनाउन चाहन्थ्यो। तर निकै लामो माथापच्चि पश्चात मीनबहादुर रायमाझी प्रधानन्यायाधीश भए ।

खिलराज रेग्मी एमाले र माओवादी दुबैका लागि रूचिकर प्रधानन्यायाधीश भए। साथै, खिलराजलाई भारतले पनि उत्तिकै रूचाएको कुरा बुझ्न कठिन छैन। खिलराज रेग्मी भन्दा अघिका प्रधानन्यायाधीशहरूले र मुख्य राजनीतिक दलहरूले एक जना भावी न्यायाधीशका बारेमा सोच्दथे। तर, खिलराजले पहिलो पटक नेपालको न्याय प्रणालीमा वंशवादका झै उत्तराधिकारीहरूको लामो सोच राखे । आजपनि सर्वोच्च अदालतमा पूर्वप्रधान न्यायाधीशहरू खिलराज रेग्मी–कल्याण श्रेष्ठ र सुशीला कार्कीको हालिमुहाली कायम रहेको चर्चा जानकारहरूले गर्ने गर्दछन् । यथार्थमा खिलराज रेग्मीले आफूपछिका तीनजना न्यायाधीशहरूको “ट्रोईका” खडा गरे। अहिले संसदीय समितिमा चलिरहेको चोलेन्द्रको बयानमा पनि राणाले भनेको “अवकाश प्राप्त प्रधानन्यायाधीशहरूले सर्वोच्चको न्यायाधीश नियुक्तिमा भागबण्डा खोजेको” कुरा यही ट्रोईका तर्फ इंगित छ। दुई तीनवटा गम्भीर कारणहरूले खिलराज रेग्मीको समय उल्लेखनीय रहेको छ। पहिलो, यिनले प्रधानन्यायाधीशहरूमा खतरनाक राजनीतिक महत्वाकाँक्षाको बिजारोपण गरे। संविधानसभाको आयुलाई रोकेर, तथा त्यसबेला राजनीतिक दलहरूमा कायम रहेको एक अर्कालाई निषेध गर्ने प्रवृतिको फाइदा उठाएर, भारतको समेत सहकार्यमा यिनले आफूलाई सरकार प्रमुखमा पुर्याए। आज धेरैले बिर्सेका होलान्। तर खिलराजको यस मनशायको त्यसबेला बार र नागरिक समाजले कटु आलोचना गरेको थियो। दोस्रो, यिनले नेपालको न्याय प्रणालीमा पहिलो पटक लामो समयसम्म प्रधानन्यायाधीश हुन सक्नेहरूको “उत्तराधिकारको लाईन” खडा गरे। करिव २०÷३० बर्षसम्म एकपछि अर्को प्रधानन्यायाधीश हुनेहरूको कार्ययोजना बन्यो। तेस्रो, खिलराज रेग्मीको कार्यकालमा राजनीतिक र उच्च प्रशासनिक व्यक्तिहरूका मुद्दामा प्रतिशोध साध्ने कार्यको शुरूवात भयो। खिलराजको कार्यकाल सर्वोच्च अदालतमा बढी कुटील र खतरनाक कार्यकालको रूपमा लिन सकिन्छ।

दामोदर शर्मा बिवादबाट मुक्त रहेनन् । यिनी उपर अदालतमा बिचौलिया प्रवृतिलाई बढावा दिएको आरोप छ। तर, वामपन्थीहरूले दामोदरलाई कहिल्यै पत्याएनन् । साथै, खिलराजको समयमा खडा भएको “ट्रोईका” को उत्तराधिकारवादलाई यिनले तोड्ने केही प्रयास गरेकोले यिनी बढी आलोच्य बनाईए । अहिलेका बिवादित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर खिलराज रेग्मी र सुशीला कार्कीबाट कारवाहीमा पारिएका थिए। दामोदरले चोलेन्द्रलाई न्याय परिषदबाट मिनाहा माफी दिलाएर लामो समयसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुने लाईनमा योग्य बनाए। प्रकाश वस्ती अख्तियार दुरूपयोग अनुसन्धान आयोगका वैतनिक कानुनी सल्लाहकार थिए। उनलाई ट्रोईका रणनीतिले सर्वोच्च अदालतमा ल्याएका थिए। दामोदर शर्माले प्रकाश वस्तीलाई स्थायी न्यायाधीश हुन दिएनन् । कल्याण–सुशीलाहरूलाई यसबाट ठूलो धक्का पुगेको थियो। प्रेस र नागरिक समाज तथा काँग्रेस बिरोधी राजनीतिक धुरीमा गहिरो प्रभाव राखेका ट्रोईकाले दामोदर शर्मालाई ठूलो आलोचनाको घेरा भित्र पुर्यायो। भनिन्छ, दामोदरले थोरै भएपनि ट्रोईका रणनीतिलाई अवरोध गर्ने प्रयास न गरेको भए नेपालको न्याय व्यवस्था अझ अवनतिको खाडलमा जाकिने थियो। एक राजनीतिक समूहको ट्रोईकाको खतरनाक मनोकाँक्षाको दीर्घकालसम्म कमारो रहन्थ्यो।
सुशीला कार्कीको अवकाश शायद सर्वाधिक अपमानजनक र अवसादपूर्ण रह्यो। प्रम शेरबहादुर देउवाको इसारामा नेपाली काँग्रेसका सांसदहरूले प्रधानन्यायाधीश सुशीला कार्कीको बिरूद्ध संसदमा महाअभियोगको प्रस्ताव पेश गर्यो। महाअभियोगको यो प्रस्तावको सबै तिरबाट आलोचना भयो, आधारहरू कमजोर थियो।तर त्यही बेथाले सुशीला स्वभाविक अवकाश पाउनु भन्दा करिब २ साता अघि अत्यन्त अपमानजनक ढंगबाट बेईज्जतिका साथ बहिरिनु पर्यो। उनले बेञ्च तोक्न सकिनन् । जुन चोलेन्द्र शम्सेरलाई त्यहाँ पुर्याएकी थिइन्, तिनै चोलेन्द्रको शरणागत भई, गोप्य सम्झौता गरि महाअभियोगलाई निरस्त गराईन् । चोलेन्द्र शम्सेरका लागि बाटो प्रसस्त गरी। यस अपमानको बोध र तुष आज पनि सुशीलाको कर्कश स्वभावमा तथा सदैव क्रोधाभाषको अनुहारमा देखिन्छ।

गोपाल पराजुलीको प्रधानन्यायाधीशको रूपमा बहिर्गमन उनको लागि अत्यन्त अपमानजनक रहयो। शायद आफ्नो प्रकारको अद्वितीय। पराजुली अहिले संचारमाध्यममा सक्रियताका साथ आफू उपर भएको षड्यन्त्र भनि रहेका छन् । न्यायको रोहमा बिचार गर्ने हो भने पछिल्लो समयमा सबैभन्दा ठूलो अन्यायमा गोपाल पराजुली पारिए। राजनस्ीतिक दलहरूको स्वार्थमा स्वयं चोलेन्द्र शम्सेर आदिको षड्यन्त्रबाट यिनलाई पाखा लगाउने काम भयो। यस पछिका बरिष्ठतम् न्यायाधीश दीपक जोशीलाई एमालेको बिरोधले प्रधानन्यायाधीश हुन दिइएन। संसदीय समितिको जोडबलले उनी उपरको आरोपको पुष्टि पनि कसैले गर्नु परेन। उनी बलात् कामु प्रधानन्यायाधीशबाटै फ्याँकिए। यसपछि पालो आएको चोलेन्द्र शम्सेर राणा साहेबको हबिगत सबैको सामुन्ने छ ।

सर्वोच्च अदालतमा विश्वनाथ उपाध्यायदेखि हाल बहालवाल बाहेक २१ जना प्रधानन्यायाधीशहरू भए। एकाध अपवाद बाहेक कुनैपनि प्रधानन्यायाधीशको बहिर्गमन सम्मानजनक तथा गम्भीर आरोप बिहीन रूपमा भएन। बाँचेका पूप्रन्याहरू अहिले “कोतपर्व” बाट जीऊँदै उम्के झैं ठानेको हुनुपर्छ। अभिशप्त छ सर्वोच्च अदालत !

सर्वोच्च अदालतको यो विवाद आखिर कहाँ गएर टुंगिन्छ ? प्रधानन्यायाधीशमा चोलेन्द्रको बहिर्गमन आजसम्म कै सबभन्दा खराब उदाहरणको रूपमा रहनेछ । आफ्नो बयानको क्रममा चोलेन्द्रले जे जस्ता गम्भीर कुराहरू उठाएका छन्, भलै त्यसको छानबिन होस् तर त्यसलाई इंकार गर्ने अवस्था छैन । कमसे कम अहिले सर्वोच्च अदालतमा रहेका पदासिन न्यायाधीशहरूबाट अदालतको गरिमाको रक्षा हुन सक्दैन। अब उपलब्धहरूबाट जो सुकै प्रधानन्यायाधीश बनुन् । उनी पनि “कुनै सैनिक कू बाट सत्ता परिवर्तन भई जुन्टाको पक्षपोषण गर्ने न्यायाधीश” भन्दा फरक हुने छैन। चोलेन्द्र पछि जो प्रधानन्यायधीशमा छन् वा हुने संभावनाको चर्चा छ–उनी खिलराज–कल्याण र सुशीला ट्रोयकाको ‘लाचार छायाँ’ भन्दा अलग्ग हुने छैनन्। बास्तवमा, अबको सर्वोच्च अदालत संविधान अनुसार लिईएको शपथ, राजनीतिक दलहरूको स्वार्थ र बार एशोसिएशनबाट बन्ने मनोबैज्ञानिक दबावको ‘द्वैध शासन’ सरह हुनेछ। अब बास्तवमा अदालत एक असफल राष्ट्रको असक्षम निकाय भयो । खोज्नोस् कसको श्राप पर्यो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान सुरु हुने

गण्डकी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट केही

सुप्रिम सहकारी ठगीमा रविलाई प्रतिवादी बनाउन प्रहरीको राय

बुटवल । रुपन्देहीमा प्रहरीले सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा

सरकारले स्पष्टीकरण सोधेपछि कुलमानद्वारा कार्यसम्पादन मूल्यांकन मन्त्रालयमा पेस, ९८अंक दाबी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आर्थिक वर्ष २०८०/८१ मा

संविधान संशोधनबाट एमाले पछि हट्न मिल्दैनः नेता साउद

राँझा (बाँके) । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री एनपी साउदले जनतालाई शान्ति,