झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर १ बाहेक अन्य कुनै पनि क्षेत्रबाट चुनाव नलड्ने बताएका छन्। काठमाडौँ–५ कि झापा–१ भन्ने चर्चा भइरहेका बेला मंगलबार बिर्तामोडमा आयोजित एक कार्यक्रममा शर्माले झापा १ बाहेक अन्य क्षेत्रबाट चुनाव नलड्ने बताए।
शर्माले यसपटक चुनाव जित्नेसमेत दाबी गरेका थिए। ‘यो तेस्रो पटकको ट्रायल हो यसपटक अवश्य पास हुन्छु,’ उनले भने। तर शर्माले आफू उम्मेदवार हुने नहुने भन्ने विषयको टुङ्गो नलागेको बताए।
चुनाव जित्ने दाबी गरेका शर्माले ‘तीन पटकमा राँगा त छिन्छ भन्दै यसपटकको निर्वाचनमा राम्रो हिसाब किताब गरेर मात्रै उम्मेदवार बन्ने’ बताए। संविधान, लोकतन्त्र, मुलुक र जनताका लागि कांग्रेसको नेतृत्वमा गठबन्धन अपरिहार्य भएको बताउँदै शर्माले गठबन्धन हुँदा झापा–१ माओवादीको भागमा पर्न सक्ने पनि बताए।
उनले आफू उम्मेदवार बन्ने विषयमा आन्तरिक छलफल भइरहेको बताए। गठबन्धनमा सिट बाँडफाँट हुँदा पहिले जितेको ठाउँमा त्यही पार्टीलाई दिने भन्ने मापदण्ड रहेको उल्लेख गर्दै उनले भने, ‘पार्टी पदाधिकारीले उठ्ने इच्छा गरेको ठाउँमा छलफलबाट टुङ्ग्याउने सहमति भएको छ।’
२०७४ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सुरेन्द्रकुमार कार्कीले यो क्षेत्रमा शर्मालाई पराजित गरेका थिए। त्यसअघि संविधानसभाको निर्वाचनमा नेकपा (एमाले) का नेता रविन कोइरालाले शर्मालाई पराजित गरेका थिए।

प्रतिक्रिया