काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालले विकृतिको समाधान गर्न रुलिङको माग गरेपछि सभामुख सापकोटाले सरकारलाई यथाशिघ्र समस्या समाधान गर्न निर्देशन दिएका हुन् ।
एमालेले त्रिभुवन विश्वविद्यालयमा भइरहेको बेथिति तत्काल समाधान गर्न सरकारसँग माग गरेको छ । एमाले सांसद प्रदीप ज्ञवालीले विश्वविद्यालयमाथि सत्तापक्षबाटै पटकपटक आक्रमण हुँदै आएको बताए ।
उनले विश्वविद्यालय धराशयी बनाउने माथि सरकारले कारबाही नगरेर टुलु टुलु हेरेर बसेको बताए । विश्वविद्यालयमा पटकपटक आक्रमण हुँदासमेत कुलपति र सहकुलपति संवेदनशील नभएको बताए ।
ज्ञवालीले भने, ‘विश्वविद्यालय धराशयी अवस्थामा छ । हजारौं विद्यार्थी विदेश पलायन भएका छन् । शिक्षाको गुणस्तर कसरी कायम हुन्छ ? प्राध्यापकमाथि आक्रमण गर्नेको मुद्धा फिर्ता लिइयो । प्रमुख प्रतिपक्षी यो स्थिती टुलुटुलु हेरेर बस्न सक्दैन । आफूले भनेजस्तो नभएपछि विश्वविद्यालयमाथि हमला गरियो । गर्न के खोजिको हो ।’
बुढानीलकण्ठमानै विश्वविद्यालयको कार्यालय लैजान खोजेको हो? भन्दै सरकारलाई प्रश्न गरे । लगत्तै सभामुख अग्निप्रसाद सापकोटाले समस्या समाधान गर्न सरकारलाई निर्देशन दिए । विश्वविद्यालयमा विगत ३ महिनादेखि तालाबन्दी छ। विद्यार्थीहरुको आन्दोलनका कारण विश्वविद्यालयका प्रशासनिक कार्य र नीतिगत निर्णयमा कठिनाइ भएको विश्वविद्यालय प्रशासनले जनाएको छ।

प्रतिक्रिया