घेराबन्दीलाई तोड्दै आत्मविश्वासका साथ चुनावमा जानुपर्छः केपी ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध भइरहेको घेराबन्दीलाई तोड्दै आत्मविश्वासका साथ चुनावमा जाने बताएका छन् ।

शुक्रबारदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विगतमा सरकारमा रहँदा गरेका राम्रा काम र भावी योजना लिएर जनतामा जानुपर्ने बताएका हुन् ।

उनले भने,‘एमालेविरुद्ध चौतर्फी हमला र घेराबन्दी छ । एमालेको अस्तित्व मेटाउँछौँ भनेका ठाउँमा रक्षा मात्र होइन विजयको सुनिश्चितता गर्दै आत्मविश्वास र दृढतापूर्वक अगाडि बढिरहेको छ ।’

उनले चुनाव निष्पक्ष गर्नको लागि सरकारलाई दबाब सृजना गर्ने बताए । उलने उपयुक्त उम्मेदवार छनोट गरेर चुनावमा जाने भन्दै त्यहीअनुसार जुट्न केन्द्रीय सदस्यहरूलाई आग्रह गरे ।

उनले भने,‘मंसिर ४ गते संघ र प्रदेशका लागि निर्वाचन हुँदैछ, यस निर्वाचनलाई शान्तिपूर्ण, भयरहित परिस्थितिमा हामीले सम्पन्न गराउनु पर्नेछ । सरकारसँग कुराकानी र दबाब चलिरहेको छ । निर्वाचनसँग सम्बन्धित राज्यका अंग र निकायसँग संवाद गर्नुपर्छ, बेठीक कुरा गर्नबाट रोक्नु पर्छ ।’ उनले एमालेले चुनाव हार्न नमिल्ने बताए ।

निर्वाचनलाई स्वतन्त्र निष्पक्ष बनाउन प्रभावकारी भुमिका खेल्नुपर्ने भन्दै अध्यक्ष ओलीले समृद्ध नेपाल सुखी नेपालीको यात्रा सफल बनाउन आवश्यक रहेको स्पष्ट पारे । पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिवारसम्म चल्ने बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेश गर्दैछन् ।