प्रचण्ड र माधव नेपाल पार्टी एकता संयोजन समिति गठन गरी अघि बढ्न सहमत


काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा एउटै घोषणापत्र लिएर जाने विषयमा छलफल भएको छ । पार्टी एकतासमेत गर्ने तयारी गरेका दुवै दल एकताअघि नै चुनावमा भने एउटै घोषणापत्र बनाएर जाने विषयमा छलफल भएको हो ।

सोमबार ललितपुरमा बसेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी बैठकले एकता संयोजन समिति गठन गर्ने र चुनावी घोषणापत्र एउटै बनाउनेबारे निर्णय गरेको हो । माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठका अनुसार केही दिनभित्रै पार्टी एकताका लागि एकता संयोजन समिति बन्नेछ । नेकपा एकीकृत समाजवादीले भने यसअघि नै बनाइसकेको छ ।

योसँगै अब माओवादी केन्द्रको पनि बन्ने भएको हो । एकीकृत पार्टीकै घोषणा निर्वाचनपछि हुने बताउँदै श्रेष्ठले पार्टी एकताको मोडालिटी तयार गर्नका लागि एकता संयोजनलाई जिम्मेवारी दिने वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताए ।