नागरिकता विधेयकमा राष्ट्रिय सहमति आवश्यक छः खनाल


गुल्मी । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले तत्काल कुनै दलसँग एकीकरणको सम्भावना नभएको बताएका छन् ।

समाजवादी प्रेस संगठनले सदरमुकाम तम्घासमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा खनालले अहिले निर्वाचनको तयारीमा लाग्नुपर्ने भएकाले तत्काल कुनै पनि दलसँग एकता नहुने बताएका हुन् ।

जनताले वामपन्थीहरुलाई झण्डै दुई तिहाइको मत दिएको उदाहरण प्रस्तुत गर्दै खनालले नेतृत्वले सही व्यवस्थापन गर्न नसक्दा पार्टी विघटन र गठबन्धन आवश्यक रहेको बताए । नेपालमा वामपन्थी एकता आवश्यक भएपनि वामपन्थी राजनीतिक नेतृत्वले महसुस गर्नुपर्ने भन्दै तत्काल त्यो सम्भव नभएको उनले बताए ।

संविधानको रक्षा गर्न पाँचदलीय गठबन्धन आवश्यक भएको उनको भनाई थियो। प्रदेश र संघको निर्वाचनको लागि गठबन्धनमा सिट बाँडफाँटको विषयलाई लिएर फाँटो आउँछ कि भन्ने प्रश्नमा खनालले समस्या नहुने बताए । सिट मिलानका लागि कार्यदलले काम गरिहेको भन्दै कार्यदलको छलफल पश्चात शीर्ष नेतृत्वबाट मिलान हुने भएकाले समस्या नहुने उनको भनाइ छ ।

छलफलमा आफूले धेरैे सिट पाए हुन्थ्यो भन्ने चाहना सबैलाई हुने भएपनि सहमतिमै मिलान हुने उनको दाबी छ । खनालले नागरिकता विधेयकमा राष्ट्रिय सहमति आवश्यक भएको बताए ।

राष्ट्रियताको सन्दर्भमा सबै दलहरु एकताबद्ध हुनु पर्नेमा त्यो नभएकोमा उनले दुःख व्यक्त गरे। राष्ट्रिय सहमति हुन नसकेपछि अल्पमत र बहुमतको प्रक्रियामा जानु परेको खनालले बताए ।