कांग्रेस नेता प्रदीप गिरीको निधन


काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । क्यान्सरबाट पीडित नेता गिरीको उपचारका क्रममा शनिबार राति साढे ९ बजे निधन भएको हो । उनको एक केही समयदेखि नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो । क्यान्सरको समस्या देखिएपछि उनको भारतमा उपचार भएको थियो।

उपचार गरेर फर्के लगत्तै स्वास्थ्यमा समस्या आएको थियो । त्यसपछि उनी मेडिसिटी अस्पताल भर्ना भएका थिए। उनलाई निमोनिया देखिएको थियो। निमोनियासँगै क्यान्सरबाट उत्पन्न समस्याले च्यापेपछि उनका सबै अंगले काम गर्न छाडेको परिवारजनले बताएका थिए । पछिल्लो केही सातादेखि उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

सिराहामा जन्मिएका गिरीले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए । उनका पिता नेत्रलाल गिरी कांग्रेसका नेता थिए । पिताबाट राजनीतिमा लागेका उनी २०१७ सालमा कांग्रेसमा आवद्ध भएका थिए । गिरीले २०२५ देखि २०४२ सालसम्म पटकपटक गरी चार वर्ष जेल जीवन बिताए ।

कांग्रेस केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्य रहेका गिरी अन्य दलका नेता कार्यकर्तामाझ पनि लोकप्रिय छन् । उनले एक दर्जन भन्दा बढी पुस्तक लेखेका छन्। महात्मा गान्धीका अनुयायी गिरी नेपालमा मार्क्सवादको राम्रो व्याख्या गर्नसक्ने व्यक्तिमा पर्छन् ।

यसैबीच, नेपाली कांग्रेस संसदीय दलले उनको पार्थिव शरीरलाई आइतबार विहान ९ देखि ११ बजेसम्म मेडिसिटी अस्पतालको शिवालयमा श्रद्धान्जलीका लागि राखिने जनाएको छ।

त्यसपछि, साढे ११ बजेदेखि दिउँसो २ बजेसम्म पार्टी कार्यालय सानेपामा श्रद्धान्जलीको लागि राखिने सचेतक मीन विश्वकर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। श्रद्धान्जलीपछि पशुपति आर्यघाटमा गिरीको अन्त्येष्टि गरिनेछ।