काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बसेको स्थायी समिति बैठकले पनि पदाधिकारीको टुंगो लगाउन सकेन । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले शनिबार बैठक बसेर पदाधिकारीको टुंगो लगाउने बताए । पदाधिकारी टुंगो लगाउन शुक्रबार बिहान स्थायी समिति बैठक बसेको थियो ।
अझै पनि पदाधिकारी चयनमा विवाद कायमै रहेकाले माओवादी केन्द्रले भोलिसम्म थप गृहकार्य गर्ने भएको हो । अब पदाधिकारीका विषयमा छलफल गर्न बाँकी कुरा नरहेको महराको भनाइ छ।
उनले भने,‘पदाधिकारीको विषयमा लगभग टुंगोमा पुगिसकेको छ। सम्भवतः अब बस्ने बैठकले टुंगो लगाउँछ। पदाधिकारीका विषयमा छलफल गर्न बाँकी विषय अब छैन ।’
नेताहरु विभिन्न कार्यक्रममा सरिक हुनुपर्ने र पार्टीको भातृ संगठन वाईसीएलको भेलामा पनि सहभागी हुनुपर्ने भएकाले शुक्रबारको बैठक स्थगित गरिएको महराले जानकारी दिए।
अर्को बैठक शनिबार दिउँसो १ बजे बस्नेछ । बुधबार बसेको बैठकले पार्टी महासचिवमा देव गुरुङको नाममा सहमति जुटाएको बताइएको थियो । त्यस्तै, उपाध्यक्षमा स्थायी कमिटी सदस्यहरु दिनानाथ शर्मा, कृष्णबहादुर महरा, गणेश साह, पम्फा भुसाल र हरिबोल गजुरेलको नाम अनुमोदन भएको बताइएको थियो ।
उपमहासचिवमा भने वर्षमान पुन, जनार्दन शर्मासँगै गिरिराजमणि पोखरेलको नाममा लगभग सहमति जुटेको नेताहरुले बताएका छन् । गत पुसमा सम्पन्न भएको महाधिवेशनले २३६ जना केन्द्रीय सदस्यको नाम अनुमोदन गरेको थियो। केन्द्रीय कमिटी २९९ सदस्यीय हुने भनिए पनि बाँकी सदस्यहरु मनोनयन हुन बाँकी रहेको थियो।

प्रतिक्रिया