काठमाडौं । नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले सत्ता गठबन्धनका शीर्ष नेताहरूले संसदको अधिकारलाई बन्द कोठामा राखेर संकुचन गरेको आरोप लगाएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै उनले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएपछि त्यसलाई संशोधनको अवसर समेत प्राप्त भएको बताए ।
उनले भने, ‘राष्ट्रपतिको सन्देश पठाएपछि सुधार गर्नुपर्ने अवसर पाएको थियो। त्यसलाई गम्भीरताको साथ लिएर अधिकतम सदुपयोग गरोस् भन्ने चाहन्छु। तर, सत्ता पक्षले त्यसो गर्न खोजेको देखिएको छैन। हिजो मात्रै सत्तारुढ दलहरु बसेर जस्ताको तस्तै पारित गर्ने उहाँहरुले निर्णय गर्नुभएको छ। सत्ताको नेतृत्व गर्ने दलले संसदको बिषयलाई बन्द कोठामा बसेर संसदको अधिकारलाई संकुचन गर्न मिल्छ कि मिल्दैन। मेरो गम्भीर प्रश्न हो।’
सत्ता पक्षले संसदको गरिमालाई समेत ख्याल नगरेको आरोप लगाए। सन्देशसहित फिर्ता पठाएको विधेयकलाई संशोधनको प्रस्ताव राख्न पाउने संवैधानिक व्यवस्था भएको बताए।
उनले नागरिकता विधेयकमाथि पुनर्विचार नगरी अगाडि बढाउन नहुने बताए। उनले विवादित रहेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक फास्टट्रयाक बाटै पुनः पास गर्ने तयारी गरेको भन्दै आपत्ति जनाए । ज्ञवालीले टाउको गणना ठूलो नभएको भन्दै विचारको पनि सम्बोधन समेत हुनुपर्ने बताए ।

प्रतिक्रिया