कार्यकाल समाप्त भएका सांसदहरुको नाममा बैठक राखेर राज्यको दोहन गर्ने काम भयो


काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. खिमलाल देवकोटाले प्रतिनिधिसभाको बैठक राखेर राज्यको दोहन गरिएको बताएका छन् । सोमबारको राष्ट्रियसभाको बैठकमा विशेष समयमा बोल्दै उनले सरकारले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गरेपछि सांसदहरुको कार्यकाल समाप्त भएको बताए ।

उनले कार्यकाल समाप्त भएका सांसदहरुको नाममा बैठक राखेर राज्यको दोहन नगर्न आग्रह गरे । संविधानले सभामुख र उपसभामुखको पद अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म मात्र कायम रहने उल्लेख गरेको भन्दै उनले संविधान अनुसार सभामुख र उपसभामुख बाहेकका सांसदहरुको कार्यकाल समाप्त भयो भनेर बुझ्नुपर्ने बताए ।

उनले भने, ‘संविधानले सभामुख र उपसभामुखको पद अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म मात्र कायम रहने भनेपछि सभामुख र उपसभामुख बाहेकका सांसदहरुको कार्यकाल समाप्त भयो भनेर बुझ्न पनि जरुरी छ । कार्यकाल समाप्त भएका सांसदहरुको नाममा बैठक राख्न पाइँदैन । पसल खोल्न पाइँदैन । राज्यको दोहन गर्ने काम बन्द होस् ।’

उनले निर्वाचनको मिति घोषणा गरेपछि सरकार, प्रतिनिधि सभा र प्रदेश सभा काम चलाउ भएकाले दीर्घकालिन महत्व राख्ने र प्रभाव पार्ने कुनै निर्णय नगर्न तथा नीति तथा कानून नबनाउन सरोकारवाला निकायको ध्यानाकर्षण गराए ।

देवकोटाले राजनीतिलाई दुहुनो गाई ठान्ने घातक प्रवृत्ति रहेको टिप्पणी गर्दै यस्तो प्रवृत्तिको अन्त्यका लागि लगातार दुई पटक निर्वाचनमा विजयी भएकाहरुलाई तेस्रो पटक टिकट नदिन प्रमुख राजनीतिक दलहरुलाई आग्रह गरे ।