काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अबको ५ वर्षपछि सक्रिय राजनीतिबाट बिदा लिने बताएका छन् ।
बिहीवार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको एकतादेखि विभाजनसम्म पुस्तक लोकार्पण कार्यक्रममा अध्यक्ष नेपालले राजनीतिको बारेमा समय निकाल्न धेरै सञ्चारकर्मीहरुले समय मागिरहेपनि आफूलाई समय निकाल्न गाह्रो भइरहेको बताए ।
अध्यक्ष नेपालले ७० वर्षमा नै राजनीतिबाट टाढिने विचार गरेपनि परिस्थितिले नदिएको र ७५ वर्षमा भने सक्रिय राजनीतिबाट बिदा लिने बताए । सक्रिय राजनीतिमा अब धेरै समय बस्न मन नरहेको उल्लेख गर्दै यस पटकको चुनावमा प्रतिस्पर्धामा गएर जित्नैपर्नै दबाब रहेको बताए ।
चुनावको मिति घोषणा गरिसकेको अवस्थामा चुनावमा नजाँदा माधव नेपाल डरायो भन्ने पर्नसक्ने भन्दै परिस्थितिको सामना गरेर विजयको ढोका खोल्ने बताए ।
उनले भने,‘मलाई कतिपय पत्रकार साथीहरुले एकदिन दिनुहोस् न भनेर मागेका छन् तर समय मिलाउन भ्याइरहेको छैन । एकदिन निकाल्न सकेको छैन । यो समय पाँच वर्षपछि मिल्ने हो कि जस्तो लागेको छ । अब यो राजनीतिबाट पाँच वर्षपछि बिदाई हुनुपर्ला जस्तो लागिरहेको छ । धेरै बस्न पनि जरुरी छैन । ७० वर्षमा नै बिदा हुने भनेको हो तर राजनीतिक परिस्थितिले छोड्न नै दिएको छैन । यसपटकको चुनावमा त लड्नैपर्छ । जित्नैपर्छ । राजनीतिलाई एउटा मोडमा पुर्याउनै पर्छ ।’
अध्यक्ष नेपालले आगामी प्रदेश र संघको निर्वाचनमा पाँच दलीय गठबन्धन गरेरै प्रतिस्पर्धा गर्ने बताए । उनले अब तेस्रो शक्ति बनाउन पार्टीहरु एकजुट भइरहेको उल्लेख गर्दै शक्तिमा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी एक ठाउँमा हनुपर्ने आवश्यकता भएको बताए ।

प्रतिक्रिया