काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले जनार्दन शर्मालाई पुनः अर्थमन्त्री बनाएर निर्लज्जता प्रकट गरेको बताएका छन् । ।
तुलसीलाल अमात्य स्मृति दिवसको अवसरमा मंगलबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले ‘गोरु नांगो देख्दा आफूलाई लाज लाग्दैन’ भनेर विगतमा आफूले भनेको उल्लेख गर्दै शर्मालाई फेरि अर्थमन्त्री बनाउँदा भने ‘गोरु नै लजाएको’ बताए । उनले शर्माको अर्थ मन्त्रालयको पुनरागमनले नेपाली जनताको विवेक र नैतिक धरातलमाथि भिषण हमला भएको उल्लेख गर्दै आक्रोश व्यक्त गरे ।
भ्रष्टाचारको केशमा मुछिएका शर्मालाई लाजसरम नमानी अर्थमन्त्री फेरि बनाएको उल्लेख गर्दै अध्यक्ष ओलीले शर्माबाहेक अरु कोही पनि मान्छे गठबन्धनमा अर्थमन्त्री हुन लायक नभएको बताए ।
उनले भने, ‘मैले उहिले पनि भनेको थिएँ–गोरु नांगो देख्दा मलाई लाज लाग्दैन भनेर । तर यसपल्ट त गोरु पनि लजाउने काम सरकारले गर्यो । गोरु आफैं लजाउने । भ्रष्टाचारको केश लाग्या छ, छानबिन समिति आफ्नै बहुमत राखेर बनाएको छ । छानबिन गर्न दिएकै छैन । छानबिन भएकै छैन । कल डिटेल्स हटाएको छ । अनि सीसीटिभी फुटेज मेटाइएको छ । रिभाईभ गर्दा देखिदैन, बुझिदैन । अनि सफाई पायो । कहाँबाट पायो सफाई ?’
अध्यक्ष ओलीले प्रचण्ड, माधव नेपालहरुप्रति संकेत गर्दै काँग्रेसलाई प्रमुख पार्टी बनाउने दुष्ट उद्देश्य राखेकाहरुसँग गठबन्धन तोडेर आएमात्रै एकता हुन सक्ने बताए । उनले नेकपा (माले)का महासचिव सिपी मैनालीलाई पार्टी एकताका निम्ति आउन आह्वान समेत गरे । अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुलाई देशद्रोहीको संज्ञा दिँदै अध्यक्ष ओलीले नेपाली जनताले आगामी निर्वाचनमा सचेतनतापूर्वक आफ्नो पार्टीलाई विजयी गराउने विश्वास समेत व्यक्त गरे ।

प्रतिक्रिया