‘किरण माओवादी काम छैन, विप्लव माओवादीको पनि अब अर्थ छैन, बाबुराम त माओवादी नै होइनन्’


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धन दायाँबायाँ नहुने बताएका हुन्।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले अहिले यही गठबन्धन कायम रहने बताएका हुन् , उनले भने,’अहिले यही पाँच दलीय गठबन्धन कायम हुन्छ, यसमा दायाँबायाँ गरिँदैन। तालमेल गर्दापनि हामी पहिलो हुने हो। सायद पहिलो कांग्रेस हुने हो। दोस्रो हामी हुने हो।त्यसमा सहयोग गर्ने हो भने सबै चिज सहज जान्छ नत्र जादैन । परिवर्तनको बाहक माओवादी हो।’

उनले नेताहरूलाई गाली गरेर समाज भत्काउने संस्कार तर्कसहित बिरोध गर्नुपर्ने बताए। उनले भने, ’कतिपयले नेताहरूलाई विदा गर्ने भन्छन्। मानव समाज व्यवस्थित रूपले अघि बढ्छन्। समाजलाई हेण्डल गर्ने कुरामा युवाहरू हुन्छन्। समाजमा प्रौढहरू पनि हुन्छन्। तिनीहरूको सहभागिताविना समाज सन्तुलित, गतिशील र स्थिर हुन सक्दैन। आमा बाहरूको अनुभव पनि काम लाग्छ। एक थरी मानिसहरु बुढाहरू, प्रौढहरू चाहिँदैन भन्छ्न। त्यो समाज भत्काउने विचार हो।’

फरक प्रसंगमा अध्यक्ष प्रचण्डले बाबुराम भट्टराई माओवादीनै नभएको बताए । उनले देशमा अब एउटा मात्रै माओवादी रहेको बताए ।

उनले भने, ‘यो चुनावबाट माओवादी भनेको माओवादी केन्द्र मात्रै हो, अरुको काम छैन भन्ने प्रमाणित भयो। किरण माओवादी काम छैन, विप्लव माओवादीको पनि अब अर्थ छैन, बाबुराम त माओवादी नै होइनन्, अब तिनको त हिसाब रहेन।’