माओवादी आन्दोलन नै आजको राजनीतिको मुलधार : प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल समाजवादी केन्द्र नबन्ने बताएका छन् । शुक्रबार प्रेस सेन्टर नेपालको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तत्काल समाजवादी केन्द्र नबन्ने स्पष्ट पारेका हुन् । उनले समाजवादी केन्द्र बनाइहाल्नका लागि आफूहरुले छलफल नगरेको उल्लेख गरे ।

अध्यक्ष प्रचण्डले केहीले समाजवादी केन्द्र बनाउने कुरा उठाएपनि बैठकमा समाजवादी केन्द्र बनाउने गरी छलफल नभएको बताए । उनले चुनावी मोर्चा बनाउने र पार्टी एकता संयोजन समिति बनाएर एउटै घोषणा पत्र बनाउने विषयमा छलफल चलेको बताए ।

उनले भने,‘तत्काल समाजवादी केन्द्र बन्नेवाला छैन । हामीले समाजवादी केन्द्र बनाईहालौँ भनेर छलफल पनि गरेका छैनौँ । केही–केही साथीहरुले समाजवादी केन्द्रको कुरा उठाउनु भएको हो तर हाम्रा बैठकहरुमा समाजवादी केन्द्र तत्काल बन्ने भन्ने कुरा भएको होइन । छैन । चुनावी मोर्चा बनाउने र पार्टी एकता संयोजन समिति भएर एउटै घोषणा–पत्र बनाउन सकिन्छ कि भन्ने छलफल चलेको छ । टुंगिसकेको छैन । जे भएपनि यही गठबन्धन जान्छ र हामीले यसैबाट देशमा राजनीतिक स्थायित्व र विकास ल्याउनुछ ।’

उनले वर्तमान सत्तारुढ गठबन्धन प्रदेश र संघको निर्वाचनसम्म कायम रहने बताए । उनले गठबन्धनको आवश्यकता र औचित्य रहँदासम्म निर्वाचनपछि पनि गठबन्धन कायम रहने बताए । गठबन्धनबाटै शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउने र नयाँ परिस्थिति बनाउने उनको भनाई छ ।

उनले पूर्वअर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई ल्याएर करको दर हेरफेर नगरेको प्रमाणित भएको बताए । संसदीय विशेष छानबिन समितिको रिपोर्टले शर्मालाई निर्दोष देखाएको उनको भनाई छ । उनले भने, ‘बजेट राम्रो छ भन्ने हुँदैथ्यो । सबैले त्यसलाई स्वागत गर्दै थिए । राति १२ बजे अनाधिकार मान्छेलाई ल्याएर करका दरमा हेरफेर गर्यो अर्थमन्त्रीले र यसलाई कारबाही गर्नुपर्छ भनेर यति धेरै प्रचार गरियो । हामीले, अझ मैले नै भन्नुपर्छ अध्यक्षको हैसियतले छानबिन गर्नु भनें, खाएको विष पो लाग्छ, नखाएको विष त लाग्दैन । छानबिन गर्न तयार । संसदीय छानबिन नै सही भनियो ।छानबिनको १० दिन समय दिइयो । ७ दिन थपियो । आज चाहीँ छानबिन समितिले बुझायो उहाँ निर्दोष हुनुहुन्छ । केही प्रमाण छैन । अब प्रमाणित भइसक्यो । भर्खरै त्यो घोषणा भयो ।’ उनले माओवादी आन्दोलन नै आजको राजनीतिको मुलधार भएको जिकिर गरे ।