कांग्रेसका तीन सर्त माने मात्र चुनावी गठबन्धनः शेखर कोइराला


वीरगंज । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसका तीन सर्त माने मात्र अन्य दलसँग आगामी निर्वाचनमा गठबन्धन हुने बताएका छन्।

बुधबार वीरगंजमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले कांग्रेस केन्द्रीय समितिले निर्णय गरेका तीन सर्त गठबन्धनका अन्य दलहरुले माने मात्र आगामी निर्वाचनमा चुनावी तालमेल हुने बताएका हुन् ।

उनले गठबन्धनका लागि आर्थिक नीति, परराष्ट्र नीति र कांग्रेसको नेतृत्वमा आगामी ५ वर्षसम्म स्थायी सरकार हुनुपर्ने उल्लेख गरे । उनले यी तीन सर्त माने मात्र गठबन्धन हुने बताए ।

उनले अहिले माओवादी केन्द्रले भने अनुसारको सिट बाँडफाँट गरेर चुनावमा जान नसकिने पनि प्रष्ट पारे । उनले भने, ‘स्थानीय तह निर्वाचनमा प्राप्त जनमतका आधारमा मात्र गठबन्धन दलबीच सिटको भागबण्डा हुनुपर्छ। आगामी संघ र प्रदेशको निर्वाचनमा कांग्रेस नेतृत्वले तेरो मेरो नगरी योग्य उम्मेदवारलाई टिकट दिए मात्र कांग्रेसको भविष्य उज्वल हुन्छ।’

पार्टीमा गुट–उपगुट हुनु स्वभाविक रहेको भन्दै कोइरालाले यसलाई विचारको रुपमा लिनुपर्ने बताए । उनले अहिलेकै परामा चले संघीयता धरापमा पर्न सक्ने चेतावनी दिए।