युक्रेन र रुसले किएभलाई मृतसागर हुँदै अन्न निर्यात गर्न बाटो खोल्ने एउटा सम्झौतामा हस्ताक्षर गरेका छन् । पछिल्लो सम्झौताले युद्धका कारण युक्रेनमा रहेको दशौँ लाख टन्न अन्न निर्यात गर्न बाटो खोल्ने छ । रुसले फेब्रुअरी २४ मा गरेको आक्रमणसँगै विश्वमा देखिएको अन्नको अभावले दशौँ लाख मानिसहरूलाई भोकमरीको जोखिममा पारेको छ । किएभले मस्कोसँग प्रत्यक्ष सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेको थियो र कुनै पनि ‘उत्तेजनात्मक’ गतिविधिलाई ‘तत्कालै सैन्य प्रतिक्रिया’ जनाइने चेतावनी दिएको थियो ।
दुवै पक्षले इस्तानबुलमा भएको हस्ताक्षर समारोहमा भाग लिएका थिए तर उनीहरू एउटै टेबुलमा भने बसेनन् । रुसी रक्षामन्त्री सर्गेइ सोइगुले सुरुमा हस्ताक्षर गरे। त्यसपछि युक्रेनी पूर्वाधारमन्त्री ओलेक्सान्डर कुब्राकोभले किएभका तर्फको हस्ताक्षर गरेका थिए । उक्त सम्झौतामा पुग्न दुई महिना लागेको थियो । र सो सम्झौता १२० दिन कायम रहने भनिएको छ र त्यसको समन्वय एवं अनुगमन केन्द्र इस्तानबुलमा स्थापना गरिनेछ जसमा राष्ट्रसङ्घ, टर्की, रुस र युक्रेनका कर्मचारीहरू राखिनेछ ।
दुवै पक्षको सहमतिमा सम्झौतालाई फेरि नवीकरण गर्न सकिने पनि भनिएको छ । युक्रेनी अन्न आपूर्तिमा लगाइएको बन्देजले विश्वव्यापी खाद्य सङ्कट निम्त्याएको थियो र गहुँबाट बन्ने पाउरोटी र पास्ताको मूल्य उच्च भएको थियो। त्यसबाहेक खाना पकाउने तेल र मलको मूल्य समेत वृद्धि भएको थियो । अमेरिकाले उक्त सम्झौता कार्यान्वयनको कदम तुरुन्तै चाल्न मस्कोलाई भनेको छ ।
ह्वाइट हाउसका प्रवक्ता जन किर्बीले विश्वका अति जोखिममा रहेका व्यक्तिहरूलाई थप असुरक्षा र कुपोषणबाट जोगाउन त्यस्तो गर्नु आवश्यक रहेको टिप्पणी गरे । यसअघि रुसी रक्षामन्त्रीले उक्त सम्झौताले आगामी दिनमा समाधानको सुरुवात गराउन सक्ने बताएका थिए । सम्झौतापछि रुसले सामानहरू गन्तव्यतर्फ पठाइँदै गरेको अवस्थामा बन्दरगाहहरूलाई निशाना बनाउने छैन ।
त्यस्तै, युक्रेनी पानीजहाजहरूले धराप बिछ्याइएका समुद्री क्षेत्रमा कार्गो पानीजहाजहरूलाई बाटो देखाउने छन् । राष्ट्रसङ्घको सहयोगमा टर्कीले पानीजहाजहरूको निरीक्षण गर्नेछ र हातहतियार तस्करी हुनसक्ने रुसी भय सम्बोधन गरिने छ । मृतसागरबाट हुने रुसी अन्न र रासायनिक मलको आपूर्ति सहजीकरण गरिने छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले उक्त निकायको नेतृत्व सम्हालेपछि आफूले गरेका सम्भवतः सबैभन्दा महत्वपूर्ण कामका रूपमा उक्त घटनालाई चित्रित गरेका छन् ।
दुई करोड टनभन्दा बढी युक्रेनी अन्नको आपूर्ति हुने सम्भावना देखा परेसँगै शुक्रबार विश्व बजारमा गहुँको मूल्य दुई प्रतिशतले घटेको थियो । शुक्रबारको आफ्नो रात्रिकालीन सम्बोधनमा युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले आफ्नो देशसँग झन्डै १० अर्ब डलर बराबरको बिक्रीयोग्य अन्न रहेको बताएका थिए ।
उनले मस्कोले ‘उत्तेजनात्मक गतिविधि गर्न सक्ने र युक्रेनी र अन्तर्राष्ट्रिय प्रयासलाई बदनाम गराउने कोसिस गर्न सक्ने’ चेतावनी दिए। सम्झौता सुनिश्चित गर्ने जिम्मेवारी राष्ट्रसङ्घको भएको उल्लेख गर्दै उनले भने, ‘तर हामी संयुक्त राष्ट्रसङ्घलाई विश्वास गर्छौँ।’ तर महासचिव गुटेरसले बीबीसीलाई सम्झौता उल्लङ्घन गरेको खण्डमा रुसलाई दण्डित गर्ने विधि राष्ट्रसङ्घसँग नभएको बताए ।
त्यस्तो अवस्थामा एउटा पूर्ण रूपमा अस्वीकार्य ठूलो स्तरको विवाद उत्पन्न हुने र सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायले गम्भीर रूपमा प्रतिक्रिया जनाउने उनको भनाइ थियो ।
सोइगुले रुसले आफ्ना दायित्वहरूलाई मान्ने भन्दै बन्दरगाहहरू खुला रहेका कारण अन्य फाइदा नलिइने टिप्पणी गरे । युक्रेनका बन्दरगाहहरूमा नाकाबन्दी लगाएको आरोप रुसले सधैँ अस्वीकार गर्दै आएको छ । उसले युक्रेनलाई समुद्रमा धराप बिछ्याएको र पश्चिमा प्रतिबन्धहरूले रुसको आपूर्तिलाई सुस्त पारेको बताउने गरेको छ।

प्रतिक्रिया