परिवारवाद लाद्ने एस देउवा र पी दाहाललाई कारबाही होस्ः महेश बस्नेत


काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले महंगी नियन्त्रणमा सरकार गम्भीर नभएको बताएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसद बस्नेतले महंगी र कालोबजारी नियन्त्रणमा सरकार उदासीन बताए । बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई कारबाही हुनुपर्ने बताएका छन् ।

बस्नेतले एम अधिकारीबारे सांसद्हरुले गरेको टिप्पणीप्रति लक्षित गर्दै देउवा र प्रचण्डमाथि कारबाही हुनुपर्ने बताएका हुन् । बस्नेतले देशी/विदेशी शक्ति गुहारेर पालैपालो राष्ट्रपति र प्रधानमन्त्री बनेर राज्यको दोहोन गर्ने र परिवारवाद लाद्ने नेता एस देउवा, माओवादी नेता पी दाहाल र नेतृ ए राणा देउवालाई खोजेर कार्बाही गर्नु पर्ने हैन र ? भन्दै प्रश्न गरे।

बस्नेतले निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले ६ अर्बभन्दा बढी कमिसनको गडबड गरेको आरोप लगाए । उनले पेट्रोलियम पदार्थको भाउ, कालो बजारी, महंगीलाई प्रत्सोहन गर्ने डी बडूलाई समेत कारबाही गरिनुपर्ने माग गरे । उनले भने, ’पेट्रोलियम पदार्थको भाउ महँगिएर कालोबजारीलाई प्रोत्साहन गर्ने आपूर्तिमन्त्री कांग्रेस नेता डी. बडूलाई काबाही गर्नुपर्ने होइन र ?’

उनले कायममुकायम प्रधानन्यायाधीशलाई पनि कारबाही गर्नुपर्ने सुझाव दिए । उनले भने, ’प्रधानन्यायाधीशलाई महाभियोग लगाई प्रक्रिया अवरोध गरेर कामु खाइरहेका डी. कार्कीहरूलाई कारबाही गर्नुपर्ने होइन र ? एमसीसी पास गर्न व्याख्यात्मक टिप्पणी गर्ने र एसपीपी सम्झौता गरेर मुलुकलाई महाशक्ति राष्ट्रको सैन्य रणनीतिको अंशियार बनाउने एस. देउवा र एम. खड्कालगायतलाई कारबाही गर्नुपर्ने होइन र ?’

एमाले अर्थ विभागका सदस्य एम. अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी हुन् भन्ने आशंका गरिएको छ । एमाले र अधिकारीले भने उक्त कुरा अस्वीकार गर्दै आएका छन् ।