गर्मी र डढेलोका कारण युरोप तहसनहस


दक्षिण–पश्चिम क्षेत्रको जङ्गलमा लागेको आगो स्पेन, क्रोएशिया र ग्रीसमा पनि फैलिएपछि फ्रान्सले डढेलोको खतरामा रहेका १४ हजारभन्दा बढी मानिसलाई सुरक्षित ठाउँमा स्थानान्तर गरेको छ । फ्रान्सको चर्चित पर्यटन क्षेत्र गिरोन्डेका अधिकारीहरूले भ्रमणस्थलबाट सुरक्षाकर्मीहरूलाई पनि हटाएका बीबीसीले उल्लेख गरेको छ । पर्यटकहरूले यसअघि नै त्यस ठाउँ छोडिसकेका थिए।

हाल टेस्टे–डे–बुच र ल्यान्डिरास क्षेत्रमा आगो फैलिएको छ । आगलागीका कारण दक्षिणी स्पेनका मिजासका पहाडहरूबाट ३२ सय भन्दा बढी मानिसहरू सुरक्षित ठाउँतर्फ भागेका थिए। केही मानिस भने फर्किसकेका छन् ।

पोर्चुगलको भूभागमा भएको आगलागी भने हाल नियन्त्रणमा आएको छ । पोर्चुगल सरकारका अनुसार गत साता मात्रै गर्मीका कारण ६५९ जनाको मृत्यु भएको छ र तीमध्ये अधिकांश वृद्धवृद्धा छन् । स्पेनको मिजास क्षेत्रमा भएको आगलागी लोकप्रिय पर्यटकीय क्षेत्र मालगबाट टाढा छैन। स्पेनकै अन्य ठाउँहरूमा पनि आगो फैलिएको छ ।

पश्चिममा मोरक्कोदेखि पूर्वमा क्रेटसम्म– भूमध्यसागर वरपर हजारौँ अग्नि नियन्त्रकहरू र धेरै जल विस्फोटक विमानहरू तैनाथ गरिएका छन्। मङ्गलवारदेखि सारा क्षेत्र अधिक गर्मीको मारमा परेको छ र त्यहाँका वनस्पतिहरू सुकेका छन् । मानव–प्रेरित जलवायु परिवर्तनका कारण गर्मीको लहरहरू लगातार, अधिक तीव्र र लामो समयसम्म चल्ने भएका छन्।

औद्योगिक युग सुरु भएदेखि नै पृथ्वी करिब १.१ डिग्री सेल्सियसले तातिसकेको छ र विश्वभरका सरकारहरूले कार्बन उत्सर्जनमा कडा कटौती नगरेसम्म तापक्रम बढ्ने क्रम जारी रहनेछ। फ्रान्सेली मौसम सेवाले आइतबार देशको दक्षिणी भागमा ४१ डिग्री सेल्सियससम्मको तापक्रमको पूर्वानुमान गरेको छ र सोमबारका लागि नयाँ तापक्रम आँकलन गरिएको छ।

पोर्चुगलको तापक्रम हाल ४७ डिग्री सेल्सियस पुगेको छ । बेलायतमा चरम गर्मीको असरबारे पूर्व चेतावनी दिइएको छ। त्यहाँ सोमबार र मङ्गलबार तापक्रम ४१ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ ।

ब्रिस्टल युनिभर्सिटीकी जलवायु वैज्ञानिक डा. युनिस लोले भनिन्, “बढ्दो तापक्रम जलवायु परिवर्तनको सङ्केत हो।“ उनका अनुसार बेलायतमा गर्मीको लहरका कारण वार्षिक थप २,००० मानिसको मृत्यु हुने गरेको छ । सार्वजनिक विवरणहरूका अनुसार सन् १८८४ पछि बेलायतमा सर्वाधिक गर्मी भएका वर्षहरू सबै सन् २००२ यताका वर्षहरू छन्।

विश्वव्यापी रूपमा, ‘गर्मीको लहर सामान्य बन्दै गइरहेको छ र यो लामो समयसम्म रहन थालेको छ,“ डा. लोले थप भनिन्। “हामीले तत्काल र छिट्टै जीवाश्म इन्धनको प्रयोग बन्द गर्न आवश्यक छ।’ मोरक्कोले १,३०० भन्दा बढी मानिसहरूलाई आफ्नो घर छाड्न निर्देशन दिएको छ र देशको उत्तरी भेगस्थित जङ्गलमा लागेको आगो निभाउन थप अग्नि नियन्त्रकहरू खटाएको छ।

त्यहाँको सबैभन्दा बढी प्रभावित क्षेत्र लाराचे प्रान्त हो । क्रेटमा रेथिम्नो वरपरका पहाडहरूका आगलागी विरुद्ध ग्रीक अग्नि नियन्त्रकहरू उत्तरी तटमा खटिरहेका छन्। शनिबार उनीहरूले त्यहाँको आगो आंशिक रूपमा नियन्त्रणमा आएको बताएका थिए ।

टर्कीको दक्षिण–पश्चिम भूभाग र क्रोएशियाको एड्रियाटिक तटका केही क्षेत्रहरूमा पनि आगलागी भएको छ। क्रोएशियाको रिसोर्ट सहर जादर र सिबेनिक नजिकका जङ्गलहरूमा पनि आगो फैलिएको छ तर त्यहाँको भूभाग हालसम्म खाली गरिएको छैन ।

शनिबार साँझ फ्रान्सले एट्लान्टिक तटका थप २२ वटा क्षेत्रीय विभागहरूलाई उच्च सतर्कता अपनाउन चेतावनी दिएको छ । डढेलोका कारण दक्षिण–पश्चिम फ्रान्सको १० हजार ५०० हेक्टर जमिन डढेको छ। त्यहाँको गृहमन्त्री गेराल्ड डार्मानिनले अग्नि नियन्त्रकहरूको “उल्लेखनीय साहस“ को प्रशंसा गरे ।

यसैबीच, आल्प्सका पर्वतारोहीहरूलाई “असाधारण मौसम अवस्था“का कारण चट्टान खस्न सक्ने जोखिम रहेकाले मोन्ट ब्लाङ्कको यात्रा स्थगित गर्न आह्वान गरिएको छ। तापको यस लहरमा आम मानिस स्ट्रोक, गर्मी, थकान र असामयिक मृत्युको जोखिममा रहेको डा. लुको भनाइ छ। यस अवस्थामा घरपालुवा र कृषिका लागि प्रयोग हुने अन्य जनावरहरू पनि जोखिममा रहेको उनले बताइन्।

‘तन्दुरुस्त र स्वस्थ मानिसहरू पनि जोखिममा छन्,’ उनले भनिन्। यद्यपि, सबैभन्दा कमजोर युवा, बालबालिका, वृद्ध र दीर्घकालीन स्वास्थ्य समस्या भएकाहरू हुन्। अत्यधिक गर्मीका कारण भौतिक पूर्वाधारहरूमा पनि क्षति पुग्न सक्ने जनाइएको छ।

यस वर्ष आगलागीका कारण पोर्चुगलमा विशेषगरी उत्ती क्षेत्रमा ३० हजार हेक्टर जमिन नष्ट भएको छ। यो सन् २०१७ को गर्मी पछि भएको सबैभन्दा विनाशकारी आगलागी हो जसका कारण करिब एक सय जनाको ज्यान गयो।

दक्षिणी स्पेनमा, टोरेमोलिनोसको समुद्री तटमा बिदा मनाउन आएकाहरूले वरपरको पहाडहरूमा धुवाँको ठूलो मुस्लो देखेको बताएका छन्। विमानहरूमार्फत आगो निभाउने पदार्थ खसाली राखिएको छ र हेलिकप्टरहरूले त्यसका निम्ति समुद्री पानी जम्मा गरिरहेका छन्।

इटलीमा, सरकारले प्रभावित पो उपत्यकामा आपत्कालीन अवस्था घोषणा गरेको छ। त्यहाँको सबैभन्दा लामो नदीमा समेत हाल पर्याप्त पानी छैन।
बीबीसीबाट