विदेशी बुहारीलाई आउने वित्तिकै नागरिकता दिने प्रचलन विश्वका कुन देशमा छ ?


काठमाडौं । नेकपा एमालेले वैवाहिक अंगीकृत नागरिकतासम्बन्धी प्रावधान सच्याउन  माग गरेको छ । बिहीबारको प्रतिनिधिसभाको बैठकमा नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै एमाले सांसदहरुले प्रावधान सच्याउन माग गरेका हुन् ।

सांसद कृष्णभक्त पोखरेलले विदेशी बुहारीलाई आउने वित्तिकै नागरिकता दिने प्रचलन विश्वका कुनै देशमा नभएको भन्दै प्रावधान सच्याउन माग गरे । उनले भने, ‘विश्वमै एउटा देशको नाम दिनुपर्यो आउने वितिक्कै नागरिकता पाउने । नत्र भने भारतमा ७ वर्ष नेपाली चेली नागरिकता लिन समय लाग्छ। अमेरिका अष्ट्रेलिया र अन्य जहाँको हेरे पनि घटिमा चार पाँच वर्ष लाग्छ।’

पोखरेलले नागरिकता विधेयक पारित गर्ने विषयमा एमाले सकारात्मक रहेको तर यस विषयमा गम्भीरतापूर्वक छलफल गर्नुपर्ने बताए । उनले यो प्रावधानमा छलफल गरेर संशोधन गर्न माग गरेका छन् ।

त्यसैगरी एमाले सांसद पद्मा अर्यालले विदेशी बुहारीको प्रावधानमा संवेदनशील र गम्भीर हुनुपर्ने बताइन् । उनले भनिन्,‘राष्ट्रियतासँग राज्यप्रतिको कर्तव्यसँग जोडिएको विषय हो। यहाँ जे अधिकार छ त्यो अन्य मुलुकमा पनि छ कि छैन हेर्नुपर्दछ। त्यसको आधारमा निष्कर्षमा पुग्नुपर्छ।’

त्यसैगरी सांसद गंगा चौधरीले नागरिकतामा राज्य कठोर हुनुपर्ने बताइन् । उनले राजनीतिक अभिष्ट पूरा गर्न नागरिकता खुकुलो पार्न खोजिएको भन्दै आपत्ति जनाइन् । उनले भनिन्, ‘देश फिजीकरण नगराऔं । नागरिकता कठोर बनाऔं । वैवाहिक अंगीकृतबाट जन्मिएका छोराछोरीलाई नागरिकताबाट बञ्चित नगराऔं ।’ वैवाहिक अंगिकृत नागरिकलाई नेपाल प्रवेश गर्ने वित्तिकै नागरिकता दिन नहुने उनको भनाइ थियो ।