छानबिन समितिले अर्थ मन्त्रालयसँग माग्यो शर्मासँग सम्बन्धित कागजात


काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले बुधवार अर्थ मन्त्रालयसँग उनीसँग सम्बन्धित कागजात र विवरण माग्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको संसदीय विशेष छानबिन समितिको पहिलो बैठकले समितिको कार्यविधि पास गर्दै पूर्व अर्थमन्त्री शर्मासँग सम्बन्धित कागज तथा विवरणका लागि पत्राचार गर्ने निर्णय गरेको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।

उनले आजको बैठकले छानबिन समितिको सभापति सर्वसम्मतिबाट छान्ने निर्णय भएको पनि बताए । उनले आजको बैठको सभापतित्व ज्येष्ठ सदस्यका हैसियतमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले गरेका बताए ।

पूर्व अर्थमन्त्री शर्माले अर्थमन्त्री हुँदा २०७९/०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई रातमा अर्थ मन्त्रालय छिराएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विषेश छानबिन समिति बनेको छ । समिति गठन भएसँगै शर्माले पदबाट राजीनामा दिएका थिए । संसदीय छानबिन समितिमा एमालेबाट खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल र विमला विक सदस्य छन ।

त्यस्तै, नेपाली काँग्रेसबाट पुष्पा भुसाल गौतम र सीताराम महतो, नेकपा माओवादी केन्द्रबाट देवप्रसाद गुरूङ र शक्तिबहादुर बस्नेत, यस्तै नेकपा एकीकृत समाजवादीकी सरलाकुमारी यादव, जसपाका सुरेन्द्र यादव र लोसपाबाट लक्ष्मणलाल कर्ण छन् । छानबिन समितिले पहिलो बैठक बसेको १० दिनभित्र रिपोर्ट तयार पारिसक्नु पर्नेछ । अर्थ मन्त्रालयले सूचनाको हक अन्तर्गत यसअघि सीसीटिभी फुटेज माग्दा मेटिएको जवाफ दिएको थियो ।