गठबन्धन बनाएर चुनावमा जान कांग्रेस नेतृत्वलाई केन्द्रीय सदस्यहरुको सुझाव


काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा मर्यादाक्रमको मस्यौदा पेस भएको छ। पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीका कार्यक्रमहरुमा जाँदा कसको मर्यादाक्रम के हुने भन्ने विषयमा एउटा मस्यौदा पेस भएको बताए।

बैठकले त्यस विषयमा पनि निर्णय गर्ने उनले बताए । बैठकमा मर्यादाक्रमका अतिरिक्त सोमबारकै छलफल जारी रहेको बताए। उलने भने,’समग्रमा यही समीक्षाका कुराहरु, आगामी दिनमा पार्टी कसरी अगाडि जानुपर्दछ भन्ने विषयमै छलफल केन्द्रित छ ।’

मंगलबार बोल्ने केन्द्रीय सदस्यहरुले गठबन्धनलाई अगाडि बढाउनुपर्ने बताएका छन् । समानुपातिक निर्वाचन प्रणाली भएकाले कसैको बहुमत नआउने भएकाले गठबन्धनको विकल्प नरहेको उनीहरुको भनाइ छ।

महतले भने,’स्थानीय तहको निर्वाचनलाई आधार मानेर कहाँ कमीकमजोरी रहे । गठबन्धन भएका ठाउँमा पनि कार्यान्वयनका सिलसिलामा के कस्ता कमीकमजोरी रहे। त्यसलाई पनि मध्यजनर राखेर साउनभित्रैमा गठबन्धनको टुंगो लगाउने र भदौभित्रमा पार्टीको टिकट टुंगो लगाइसक्नुपर्छ भन्ने साथीहरुको सुझाव छ।’

समयमा गठबन्धन र टिकटको विषय टुंगियो भने आफ्नो कुरालाई समयमै स्पष्ट ढंगबाट जनताको बीचमा राख्न सकिने र निर्वाचन परिणाम राम्रो आउने केन्द्रीय सदस्यहरुको धारणा छ ।

महतले पार्टीका नेताहरुले पार्टीभित्रका असन्तुष्टि या फरक मतका विषयहरुलाई केन्द्रीय समितिभित्रै कुरा राख्दा राम्रो हुने बताए। त्यसो हुँदा पार्टी एकता र लक्ष्यप्रति सबै एकजुट रहेको सन्देश जाने उनको भनाई थियो ।