वैशाख ११ गते पूर्वराजा ज्ञानेन्द्रले पढेको वक्तव्य मैले वल्खुको रुद्राक्षको बोटमुनि बसेर ड्राफ्ट गरेको थिएँः ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता स्वार्थका लागि नेपाली कांग्रेस निरीह बनेको बताएका छन् । शुक्रबार छविलाल कार्की स्मृति तथा रक्तदान कार्यक्रममा अध्यक्ष ओलीले कांग्रेससँग विचार नै नभएको बताएका हुन् ।

उनले मन्त्रीलाई कारबाही गर्न नसक्ने प्रधानमन्त्री निरीह भएको बताए उनले भने, ‘प्रधानमन्त्रीसँग मन्त्रीलाई कारबाही गर्ने निकाल्ने कुनै हुती छैन । सत्ता स्वार्थ भनेको त्यस्तो हुँदो रहेछ । मन्त्रीले जे गरेपनि कांग्रेस त हेरेको हेर्यै।’

उनले राजतन्त्रसँग माओवादी केन्द्रको कार्यगत एकता रहेको दाबी गरे । उनले भने,‘प्रचण्डपथ भनेको देशलाई भड्कालोमा लैजाने पथ हो । देशलाई अन्धकारमा लैजाने पथ हो ।’

उनले गठबन्धनको उद्देश्य लोकतान्त्रिक संस्था कमजोर पार्ने रहेको बताए । उनले वर्तमान सरकार स्वीकार्य नभएको भन्दै यदि यो नहटे जनताले टिपेर मिल्काउनुपर्ने अवस्था आउनसक्ने बताए । उनले भने,‘यो सरकार अविलम्ब हट्नुपर्छ । यिनीहरुको ठाउँमा सद्धे मान्छे कोही हुन्थे भने पग्लेर हिँड्नुपथ्र्यो । अझै भाषण गरिरहेका छन् अन्ठसण्ठ । अब अति भयो ।’

अध्यक्ष ओलीले अर्थमन्त्री जनार्दन शर्मा ढुकुटीभित्र पसेर साँचो लिएर लुटेको आरोप लगाए । उनले भने,‘व्यापारीको प्रतिनिधि बसेर करका दर तय हुन्छ । विभिन्न छुटहरु तय हुन्छ । योभन्दा लज्जास्पद काम के हुन्छ ?’

उनले माओवादी अध्यक्ष प्रचण्डले जनयुद्ध र त्यसपछि मारिएको व्यक्तिहरुप्रति माफी माग्नुपर्ने बताए । उनले भने, ‘स्वीकारोक्ति छैन । अहंकार छ । दम्भ छ । मान्छे मारेको छ । लज्जाबोध छैन । अफठ्यारो केही लाग्दैन ।’

ओलीले माओवादीकै कारण युवा जनशक्ति खाडीतिर जाने अवस्था प्रारम्भ भएको दाबी गरे । उनले भने,‘देशमा बस्नेलाई धम्क्याउन थालेपछि गाउँमा बस्न नसकेर युवा खाडीतिर जान थाले । माओवादीले कुनै उद्यम रोजगारी सिर्जना गर्नेतिर कदम चाल्नै दिएन ।’

यसैबीच, २०६२/०६३ को जनआन्दोलनपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले पढेको वक्तव्य आफूले ड्राफ्ट गरेको ओलीले दाबी गरेका छन् ।

उनले भने, ‘२०६३ वैशाख ११ गते ज्ञानेन्द्रले सर्वदलीय सहमतिमा पार्टीले तयार पारेको ड्राफ्ट पढेका थिए। त्यो एमालेको पार्टी कार्यालय वल्खुको अघि चौरमा रुद्राक्षको बोटमुनि बसेर मैले ड्राफ्ट गरेको थिएँ। ज्ञानेन्द्रले त्यही पढेका थिए। दुईटा कुरा गरिएको थियो– एउटा मैले भंग गरेको संसद् पुनःस्थापना गरिएको छ। अर्को बहुदलीय व्यवस्था जनताको नासो जनतालाई फर्काइदिएको छु। अथवा विघठित संसदको पुनःस्थापना गरिएको छ।’