वामदेव गौतमले खोले नयाँ दल


काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले नयाँ पार्टीको घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका हुन् ।

तत्कालीन नेकपा विभाजनपछि एकताका लागि अभियान सञ्चालन गरेका गौतमले अहिले त्यसैलाई पार्टीको रूप दिएका हुन् । पार्टीमा १५ सदस्यीय स्थायी कमिटी, एक अध्यक्ष, सात उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष रहने गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पार्टीको मुख्य उद्देश्य तत्कालीन नेकपालाई पुनर्गठन गर्ने रहेको विज्ञप्तिमा उल्लेख छ । पुनर्गठन गर्न नसके नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लाई निर्वाचनमा कार्यगत एकता गराउने विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘(नेकपा)लाई फेरि पुनर्गठन गर्नु हो । यसपछि छिट्टै हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपूर्व नै विभाजित कम्युनिस्ट पार्टीहरू नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लाई एकीकृत हुन नसकेको अवस्थामा कार्यगत एकतामा आउन वातावरण सिर्जना गर्ने अर्को उद्देश्य रहेको छ ।’