प्राचीन युगको खाल्डोमा भ्यागुताको सामूहिक चिहान फेला पर्दा…


वेलायतमा एउटा पुरातात्विक स्थलनजिकै नयाँ बाटो खन्ने क्रममा भ्यागुताका ८ हजार वटाभन्दा बढी प्राचीन हाडखोड भेटिएपछि विज्ञहरू अचम्ममा परेका छन् । केम्ब्रिजनजिकै लौहयुगीन एउटा गोलघरको छेउमा फेला परेको एउटा खाल्डोमा झन्डै ३५० वटा भ्यागुताका अवशेषहरू थिए । लन्डन पुरातत्वातिक सङ्ग्रहालय (मोला) मा कार्यरत वैज्ञानिकहरूले अवशेषहरू त्यति परिमाणमा एउटै ठाउँमा फेला पर्नु असामान्य भएको बताएका छन् ।

उनीहरूलाई ती हड्डीहरू कसरी त्यहाँ थुप्रिए भन्ने थाहा हुन सकेको छैन । लौहयुगको मध्यम र अन्तिम चरणमा प्रयोगमा रहेको एक गोलघरको पश्चिमपट्टि अवस्थित एक १४ मिटर लामो खाल्डोमा अधिकांश हड्डीहरू फेला परेका थिए । सङ्ग्रहालयका विज्ञहरूका अनुसार उक्त क्षेत्रमा रहेका अरू पुरातात्विक स्थलमा भ्यागुताजस्ता उभयचरका निकै कम अवशेष फेला पर्ने गरेको छ ।

वैज्ञानिकहरूले फेला परेका हड्डीको अनुसन्धान गरिरहेका छन् । मोलाका अनुसार पुरातात्विक अध्ययन गरिने क्षेत्रमा भ्यागुताको हड्डी नभेटिने हैन तर अहिले भेटिएको परिमाण असाधारण छ । यो “आश्चर्यजनक र अनौठो खोजले मोलाका प्राणीपुरातत्त्वशास्त्रीहरूलाई जासुसी अनुसन्धान गर्न अग्रसर“ गराएको मोलाको भनाइ छ।

अनुमान
अहिलेसम्म ती हड्डीका थुप्रोबारे केही अनुमानहरू गरिएका छन् । हड्डीमा पोलेको, काटेको वा टोकेको कुनै सङ्केत छैन। त्यसैले मानिस वा अन्य प्राणी वा चराले ती भ्यागुता खाएर हड्डी फालेको सम्भावना न्यून छ । बरु भ्यागुताहरू आहाराको लोभमा त्यहाँ पुगेका हुन सक्छन् । उक्त स्थाननजिकै खाद्यान्न प्रशोधन गर्ने गरिएको प्रमाण फेला परेको छ। त्यसैले विभिन्न खालका खबटे र लाईकीरा खान भ्यागुता गएको अनुमान छ ।

सहवासका लागि ठाउँ खोज्दै जाँदा भ्यागुताहरू खाल्डोमा खसेको तर पछि बाहिर निस्किन नसकेको पनि हुनसक्छ । अथवा जाडोयाममा शीतनिद्रामा बस्दा वा कुनै रोगका कारण तिनको मृत्यु भएको हुनसक्ने सम्भावना पनि छ । मोलामा कार्यरत वरिष्ठ वैज्ञानिक डा. भिकी यूअन्स भन्छिन्, ‘यो अचम्मलाग्दो र अनपेक्षित खोज हो। हामी अझ यो कुरा बुझ्ने प्रयास गर्दै छौँ।’

उनका अनुसार सम्भवतः लामो अवधिसम्म विभिन्न कारणले भ्यागुताको अवशेष जम्मा भएको हुनसक्छ । ‘तर ती के हुन् भन्ने हामी अझै निश्चित छैनौँ,’ उनले भनिन् । उक्त स्थानमा फेला परेका विभिन्न वस्तुबारे अनुसन्धान भइरहेको छ । ‘त्यतिबेलासम्म यो प्राग–ऐतिहासिक कालदेखिको भ्यागुतो–रहस्य कै रूपमा रहनेछ,’ पुरातत्त्वविद्हरूले भने।

बीबीसीबाट