काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिका भ्रमणमा ह्विस्की खुवाएर सम्झौतामा हस्ताक्षर गराउनसक्ने भन्दै सचेत रहन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।
शुक्रवार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा अध्यक्ष नेपालले परराष्ट्र रणनीतिमा कहिलेकाहीँ दबाब नभइ फकाएर, प्रलोभनमा पारेर र ह्विस्की, मिठाइ खुवाएर पनि अवाञ्छनीय गतिविधि गर्ने गरेकोप्रति प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका हुन् ।
उनले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का फरक फरक धारणा आइरहँदा र पछिल्ला केही घटनाक्रमले आशंका पैदा गरेको बताए । अध्यक्ष नेपालले अहिलेको सरकार नेपालको असंलग्न परराष्ट्रनीतिमा अडिग रहन तयार छ कि छैन भन्दै प्रश्नसमेत गरे ।
उनले सरकारका पछिल्ला केही गतिविधिले प्रश्नहरु खडा गरेको र आशंका उब्जाएको भन्दै देशको हीतको बारेमा बोल्ने वा गर्ने कुरामा खुट्टा कमाउनु नहुने बताए ।
उनले भने, ‘अहिलेको जल्दोबल्दो विषय हाम्रो प्रधानमन्त्रीज्यूको अमेरिका भ्रमण हो । अमेरिका भ्रमणको सन्दर्भमा उठेको प्रश्न भनेको स्टेट पार्टनरसिप प्रोग्राम हुन पुगेको छ । यसले धेरै कन्फ्यूजन पैदा गरेको छ । यसमा विभिन्न तर्क वितर्कहरु, अलगअलग विचारहरु आउँदा सत्यतथ्य के हो भन्ने बुझ्न सकिएन । २०७२ सालको कार्तिक महिना १० गते होला । कुन प्रधानमन्त्री, कुन रक्षामन्त्रीको पालोमा कसको पालमा यी सबै भए भनिसकेपछि यी जम्मै कुरा हामीले थाहा पाउनुपर्छ । यथार्थ के हो त्यसको जानकारी हुनुपर्छ । नेपाल अहिलेसम्म आफ्नो असंलग्न परराष्ट्रनीतिमा अविचलित रुपमा अघि बढ्न तयार छ कि छैन ? अहिलेको सरकार त्यसका निम्ति दृढताकासाथ अघि बढ्न तयार छ कि छैन ? किनभने कतिपय गतिविधिले प्रश्नहरु खडा गर्ने ठाउँ दिएको छ । नेपाल अरुको सैन्य घेरामा प्रयोग हुन सक्दैन, जोडिन सक्दैन भनेर भन्न सक्नुपर्छ । कहिलेकाहीँ दबाबले हुँदैन, मीठो पाराले फसाइन्छ । निदाएको बेलामा, ह्विस्की खुवाएर, फकाउने गरिन्छ, ख्याल गर्नुहोला ।’
अध्यक्ष नेपालले एसपीपीबारे उठेका सबै प्रश्नको जवाफ सरकारले दिनुपर्ने बताए ।

प्रतिक्रिया